मेचीनगर १० खयरडाँगीमा अवस्थित महाकालेश्वर शिवालय एवं पुण्यश्वरी मन्दिरमा श्रावण महिनाको पहिलो सोमबार कलश यात्रा आरम्भ गरी निन्दा नदिबाट जल उठाई श्री महाकालेश्वर बाबालाई जल अर्पण गरिएको छ । यससँगै रुद्राभिषेकपश्चात सन्ध्या आरती र सन्ध्याकालीन भजन किर्तन गरी पहिलो सोमबारको कार्यक्रम सम्पन्न भएको छ ।

श्रावण महिनाको प्रत्येक सोमबार रुद्र अविशेक गरिने र अन्तिम सोमबार ११ अध्याय रुद्री पाठ साथै हवन लगायतका कार्यक्रम गरि पुजापाठ सम्पन्न गरिने अध्यक्ष केदार खत्रीले जानकारी दिनुभयो ।

गत असार २४ गते भब्यताका साथ प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न गरी असार २९ गतेबाट यस मन्दिरमा दैनिक सन्ध्या गंगा आरती हँुदे आइरहेको छ । आरतीमा स्थानिय भक्तजनको बाक्लो उपस्थिति रहने गरेको छ ।

हिन्दु धर्ममा श्रावण महिना र विशेष गरी सोमबार भगवान शिवको पुजाका लागि अति पवित्र मानिन्छ । साउनको सोमबार ब्रत बसी शिव मन्दिरमा जल तथा बेलपत्र चढाइ शिव आरधना गर्नाले मनोकामना पुरा हुने र घरमा सुख सम्बृद्धि छाउने विश्वास रहँदै आएको छ । सोही अनुरुप महाकालेश्वर शिवालय मन्दिरमा दिनहुँ स्थानिय भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । केही समयअघिमात्र पूर्ण रुपमा निर्माण कार्य सम्पन्न भएको यस मन्दिरलाई मेचीनगरकै उत्कृष्ट मन्दिरको रुपमा लिइन्छ ।


