Preeti to Unicode

Unicode to Preeti

विश्वकर्मा पूजाको दिन पूर्वेली ढुवानी सेवा प्रालद्विारा आफ्ना कर्मचारीलाई सम्मान, पुरस्कार प्रदान साथै बोनम्यारो पिडित साइमनलाई ११ हजार सहयोग

बिर्तामोड । विश्वकर्मा पूजाको दिन आज पूर्वेली ढुवानी सेवा प्रालिले उत्कृष्ट चालक, उत्कृष्ट सहचालक, दीर्घसेवा सम्मान तथा ढुवानी व्यवसायमा लामो समयदेखि योगदान गर्ने आएका एक अग्रज व्यवसायीलाई नगदसहित सम्मान गरेको छ ।

श्रम, सीप, प्रविधि र उत्पादनसँग जोडिए‌का साधनको सम्मान गर्दै सुरक्षित र व्यवस्थित व्यावसायिक यात्राको कामना गर्ने विश्वकर्मा पूजा औद्योगिक तथा यातायात क्षेत्रको महत्वपूर्ण पर्व भएकाले मेहनती, इमानदार र व्यावसायिक अनुशासित कर्मचारीहरुलाई सम्मान गरिएको जनाइएको छ ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको विशेष आतिथ्यमा भएको कार्यक्रममा हिलिहाङ गाउँपालिका २, पाँचथर स्थायी घर भएका नरेश मगरलाई उत्कृष्ट चालकका रूपमा नगद ३१ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

यसैगरी सोही स्थानका सुवास प्रसाईंलाई दीर्घसेवा सम्मानका रुपमा नगद २१ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ ।

पूर्वेली ढुवानीले बिर्तामोड ५ का तेजप्रसाद कडरियालाई चालक तथा ढुवानी व्यवसायको क्षेत्रमा लामो समयदेखि पुर्याउँदै आएको योगदानको कदर गर्दै नगद ११ हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको छ ।

पूर्वेली ढुवानी सेवा प्रालि पूर्वी नेपाललाई आधार क्षेत्र बनाएर देशभर मालवाहक ढुवानी सेवा प्रदान गर्दै आएको सेवा प्रदायक संस्था हो । यसका अध्यक्ष निर्मलराज खत्रीका अनुसार विश्वसनीय, सुरक्षित र समयमै सेवा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीमा ४० वटाभन्दा बढी मालवाहक ट्रक नियमित रूपमा परिचालित छन् ।

सो कम्पनीमा चालक, सहचालक तथा कर्मचारी गरी करिब १०० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको उनको भनाई छ ।

व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको पूर्वेली ढुवानीले बिर्तामोड ६ का १० वर्षीय साइमन हस्दा बोनम्यारोको समस्याबाट पीडित रहेको जानकारी पाएपछि उनको उपचारमा सहयोग पुर्याउन कम्पनीले ११ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

पूर्वेली ढुवानीले आफ्नो कम्पनीका कार्यरत चालक, सहचालक तथा कर्मचारीको आकस्मिक स्वास्थ्य उपचार तथा आपत्कालीन आवश्यकतामा सहयोग पुगोस् भन्ने ध्येयले स्टाफ इमर्जेन्सी फण्ड सञ्चालनमा ल्याउने घोषणा पनि गरेको छ ।

सम्बन्धित
- Advertisment -


लोकप्रिय