मेचीनगर १० खयरडाँगीस्थित श्री महाकालेश्वर शिवालय एवम पुण्यश्वरी दुर्गा मन्दिरले श्रावण महिनाभर उल्लेखनिय भक्तजनको उपस्थितिमा विभिन्न कार्यक्रम गर्दै शिव अनुष्ठान सम्पन्न गरेको छ । मेचीनगरकै उत्कृष्ट धार्मिक पर्यटकीय स्थलका रुपमा परिचित महाकालेश्वर मन्दिरमा श्रावणको अन्तिम सोमबार भक्तजनको अझ बाक्लो उपस्थिति रहेको थियो । शिव आरधनाका निम्ति बिहानदेखि नै भक्तजनको घुइँचो लागेको थियो भने सोही दिन ११ अध्याय रुद्री पाठ, होमाधि, शिव महात्मय कथा र सन्ध्याकालीन आरती गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।

हिन्दु धर्ममा श्रावण महिना र विशेष गरी सोमबार भगवान शिवको आरधनाका लागि अत्यन्त पवित्र मानिन्छ । त्यसैले स्थानीय भक्तजनहरुले श्रावणको पहिलो सोमबारदेखि नै निन्दा नदीबाट पवित्र जल संकलन गरी कलशयात्रा मार्फत मन्दिर ल्याएर भगवान श्री महाकालेश्वरलाई जलाभिषेक गर्दै शिव अनुष्ठानको सुरुवात गरेका थिए । तत्पश्चात मन्दिरमा नियमित रुद्राभिषेक, सन्ध्या आरती साथै भजन किर्तनका कार्यक्रम हुदै आइरहेको थियो ।

त्यसो त श्रावणमा मात्र नभई महाकालेश्वर मन्दिरमा नियमित रुपमा पुजाआजा र विशेष पर्व तथा धार्मिक उत्सवको अवसरमा भजन किर्तनका साथै अन्य आध्यात्मीक कार्यक्रम आयोजना हुदै आइरहेको छ । जसकारण स्थानीय मात्र नभई मेचीनगर बाहिरका भक्तजनहरुको समेत आगमन बढ्न थालेको मन्दिर ब्यावस्थापन समितिका सचिव सुरेन खातीले जानकारी दिनुभयो । स्थानीय मुष्ठीदाताको चासो र अपार साथसहयोगका कारण मन्दिर यो अवस्थासम्म आइपुग्न सफल भएको उहाँ बताउनुहुन्छ ।

प्रारम्भमा जिर्ण अवस्थामा रहेको महाकालेश्वर मन्दिरलाई स्थानीय भक्तजनकै पहलमा पुर्ननिर्माण गरिएको हो । झटट् हेर्नसाथ जोकोहीको ध्यान खिच्ने आकर्षक शैलीमा निर्माण गरिएको महाकालेश्वर मन्दिर पुर्ननिर्माणमा स्थानिय मुष्ठिदातासँगै प्रदेश सरकारको पनि विशेष सहयोग रहेको अध्यक्ष केदार खत्रीले जानकारी दिनुभयो । करिब ५० लाखको हारहारीमा निर्माण गरिएको यस मन्दिरमा राज्यकातर्फबाट २० लाख रुपैयाँ सहयोग प्राप्त भएको उहाँ बताउनुहुन्छ ।
यसैगरी महाकालेश्वर शिवालय मन्दिरमात्र नभई धामको रुपमा परिणत हँुदै गइरहेकाले यसको निर्माणसँगै संरक्षण अनिवार्य रहेकाले स्थानीय सरकारको तर्फबाट समेत पहल हुनुपर्ने निवर्तमान अध्यक्ष कुमार बस्नेतले बताउनुभयो ।
विक्रम संवत २०५२ सालमा स्वर्गीय खगेन्द्र पौडेलको अगुवाइमा महाकालेश्वर शिवालय मन्दिरको थालनी गरिएको हो । जुनसमय मन्दिरको भौतिक संरचना सानो स्वरुपमा थियो । स्थानीय मुष्ठिदाता, भक्तजनहरुको निरन्तर साथ र सहयोगको कारणले आज शिवालय मन्दिर, दुर्गा मन्दिर, गणेश मन्दिर सहित सामुदायिक भवन निर्माण भइसकेको छ जहाँ विवाह, ब्रतबन्ध लगायत अन्य धार्मिक कार्यक्रम समेत गर्न सकिन्छ । स्थानिय भक्तजनको ठुलो साथ र सहयोग पाइरहेको यस महाकालेश्वर शिवालय मन्दिरलाई राज्यको तर्फबाट पनि यसरी नै सहयोग पाए मन्दिरलाई अझ फराकीलो दायरामा लाने र थप ब्यावस्थित बनाउने मन्दिर ब्यावस्थापन समितिले बताएको छ ।


