Preeti to Unicode

Unicode to Preeti

७७ जिल्लामा संगठन विस्तारको लक्ष्य, बिर्तामोडमा नेपाल पथ पार्टीको कार्यालय स्थापना

बिर्तामोड : देशभर संगठन विस्तारको अभियानमा जुटेको दुर्गा प्रसाईं नेतृत्वको नेपाल पथ पार्टीले झापाको बिर्तामोडमा जिल्ला कार्यालय स्थापना गरेको छ। ७७ वटै जिल्लामा पार्टी कार्यालय स्थापना गर्ने लक्ष्यसहित अघि बढेको पार्टीले सोमबार बिर्तामोडमा कार्यालय उद्घाटन गर्दै झापामा आफ्नो राजनीतिक गतिविधिलाई थप सक्रिय बनाएको हो।

कार्यालय उद्घाटनका क्रममा पार्टीका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले वर्तमान राजनीतिक दलहरूबाट मुलुकले अपेक्षित निकास पाउन नसकेको टिप्पणी गरे। पुराना दलहरू नागरिकका चाहना र आवश्यकता सम्बोधन गर्न असफल भएको आरोप लगाउँदै उनले नेपाल पथ पार्टीले जनताका वास्तविक समस्या, आवाज र मुद्दालाई राजनीतिको केन्द्रमा राख्ने दाबी गरे। प्रसाईंले आगामी केही वर्षभित्र नेपाल पथ पार्टी देशकै ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित हुने दाबीसमेत गरे। संगठनलाई देशव्यापी बनाउने अभियानसँगै नागरिकका मुद्दालाई राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने पार्टीको रणनीति रहेको उनले बताए।

कोशी प्रदेश संयोजक प्रेम थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका वार्ता समिति संयोजक राजु आचार्य ‘अग्नि’, कोशी अञ्चल सहसंयोजक मधुकर सिटौला, प्रचारप्रसार विभाग संयोजक किशोर आचार्य, झापा जिल्ला अध्यक्ष प्रेमबहादुर घिमिरेलगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

कार्यक्रमका क्रममा विभिन्न राजनीतिक दलमा आबद्ध रहेका केही व्यक्तिहरूले पार्टी परित्याग गरी नेपाल पथ पार्टीमा प्रवेश गरेका थिए। पार्टीका लुम्बिनी संयोजक माधव कल्पितले कार्यक्रम सञ्चालन गरेका थिए। नेपाल पथ पार्टीले आगामी फागुन १ गते दमकमा आमसभा आयोजना गर्दै पार्टीको औपचारिक घोषणा गर्ने तयारी गरेको जनाएको छ। बिर्तामोडमा स्थापित जिल्ला कार्यालयलाई पार्टीको संगठन निर्माण, राजनीतिक गतिविधि सञ्चालन तथा जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने महत्वपूर्ण आधारका रूपमा लिइएको छ।

सम्बन्धित
- Advertisment -


लोकप्रिय