धुलाबारी : मेचीनगरको धुलाबारीलाई पर्यटन तथा हस्पिटालिटीको नयाँ गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित करिब ५० करोड रुपैयाँको लगानीमा अत्याधुनिक मल्टिपर्पज हस्पिटालिटी निर्माण हुने भएको छ। ६० वटा कोठासहित निर्माण हुने उक्त परियोजनामा होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, स्विमिङ पुल तथा दुईवटा भिल्ला रहने बताइएको छ ।

नन्दा पेट्रोल पम्पबाट करिब ३०० मिटर पश्चिम ११ कट्ठा क्षेत्रफलमा निर्माण हुने उक्त हस्पिटालिटीलाई आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने आधुनिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूमि पौडेलले जानकारी दिनुभयो । वहाँका अनुसार निर्माण कार्य सुरु गरी एक वर्षभित्र सम्पन्न गरेर सञ्चालनमा ल्याउने योजना रहेको छ। धुलाबारीलाई भविष्यमा क्यासिनो हबका रूपमा विकास गर्न सकिने सम्भावनालाई समेत मध्यनजर गर्दै परियोजना अघि बढाइएको उहाँले बताउनुभयो।

आशिष् सङ्ग्रौला, तुलसी दनुवार र तुलसी पौडेल सञ्चालक रहेको उक्त परियोजनामा नोभेम्बर नेम्बाङ सल्लाहकारका रूपमा रहनुभएको छ। परियोजना सञ्चालनमा आएपछि स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुनुका साथै होटल, रेस्टुरेन्ट, मनोरञ्जन तथा आतिथ्य सेवाको विस्तार हुने अपेक्षा गरिएको छ। मेचीनगरको पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिमा वृद्धि र धुलाबारीलाई व्यवस्थित पर्यटकीय तथा हस्पिटालिटी केन्द्रका रूपमा स्थापित गर्न परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने सञ्चालक पक्षको विश्वास छ।


