हर्कटे, इलाम । लायन्स क्लब अफ बिर्तामोड सिटीको वर्ष सन् २०२५–२६ का लागि निर्वाचित समितिलाई पदहस्तान्तरण गरिएकाे छ ।
आइतबार साँझ इलामको प्रसिद्ध पर्यटकीय स्थल हर्कटेमा आयोजित कार्यक्रमकाबिच राजकुमार गुप्ताको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिलाई पदहस्तान्तरण गरिएकाे हो ।
गुप्ताको नेतृत्वमा चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्षमा सञ्जय चौधरी, द्वितीय उपाध्यक्षमा पदम बहादुर पुरी (प्रकाश), तृतीय उपाध्यक्षमा लक्ष्मण खड्का (प्रेम),सचिवमा दीपक साफी र कोषाध्यक्षमा शंकर भगत चयन हुनुभएको थियो ।
क्लबका संस्थापक अध्यक्ष निरज ओलीको प्रमुख आतिथ्य तथा वर्ष २०२४–२५ का अध्यक्ष उपेन्द्र बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष बानियाँले नयाँ निर्वाचित अध्यक्ष गुप्तालाई लायन्स क्लबको विधि अनुसार पद हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै नव-निर्वाचित अध्यक्ष गुप्ताले वर्ष २०२५–२६ मा क्लबलाई सामाजिक उत्तरदायित्वप्रति थप क्रियाशील बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय तह, सरकारी निकाय र संघ-संस्थासँग समन्वय गर्दै जनसेवामूलक कार्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो।
त्यसअघि, तत्कालीन अध्यक्ष उपेन्द्र बानियाँले आफ्नो कार्यकालका उपलब्धिहरू प्रस्तुत गर्दै सबैको साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू मनोज बानियाँ, घनश्याम चौधरी, रामेश्वर दुवेदी, दुर्गा थपलिया लगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रमकाे सञ्चालन क्लबका निवर्तमान सचिव लक्ष्मण खड्का (प्रेम)ले गर्नुभएको थियो। कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरू र विभिन्न जिम्मेवारीमा रहेका अतिथिहरूको उपस्थिति रहेको थियो।