Preeti to Unicode

Unicode to Preeti

बाढी र पहिरोले तमोर करिडोर सडक आयोजनामा व्यापक क्षति, निर्माण कार्य प्रभावित

अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण तमोर करिडोर सडक आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। गत असार ५ गते करिब १२ बजेतिरदेखि परेको लगातार वर्षाले सुभाङ खोला तथा आयोजनाका विभिन्न क्षेत्रहरूमा क्षति पुर्‍याएको निर्माण कम्पनीले जनाएको छ।

निर्माणाधीन Tamor Corridor Road Project अन्तर्गत सुभाङ खोलामा सञ्चालनमा रहेको Apex Construction Company Pvt. Ltd. को क्रसर प्लान्ट बाढीले बगाएको छ। साथै क्रसरबाट उत्पादन गरिएका एग्रिगेट, बेस सामग्री, बालुवा, रड, ग्याबियन जाली तथा अन्य निर्माण सामग्रीमा समेत ठूलो क्षति पुगेको बताइएको छ।

बाढीका कारण क्रसर प्लान्टको ट्रान्सफर्मर र सञ्चालन कक्ष (अपरेसन क्याबिन) समेत बगेको कम्पनीका प्लान्ट इन्चार्ज सत्यबहादुर राउत ले जानकारी दिए। उनका अनुसार प्लान्ट पुनःस्थापना तथा सञ्चालनमा ल्याउन केही समय लाग्ने भएकाले निर्माण सामग्री उत्पादन तत्काल सम्भव छैन।

उता आयोजनाको विभिन्न खण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। करिब ४ देखि ५ किलोमिटर सडक क्षेत्रमा पहिरो हटाउनुपर्ने अवस्था रहेको र कतिपय स्थानमा सडकको एलाइनमेन्ट नै कटान भई बगेकाले यातायात सञ्चालन तथा निर्माण कार्य दुवै प्रभावित भएका छन्।

घटनाबारे आयोजना पक्षका इन्जिनियर हरिवंश चौधरी, ज्ञानेन्द्र राई तथा निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जिनियर सागर बुढाथोकी लाई जानकारी गराइएको छ। प्रभावित क्षेत्रहरूको प्रारम्भिक निरीक्षणपछि विस्तृत क्षति विवरण संकलन गर्ने तयारी भइरहेको जनाइएको छ।

यता हेवा खोलामा पानीको बहाव अझै उच्च रहेकाले निर्माण सामग्री ढुवानी तथा आवश्यक उपकरण साइटसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ। यसले आयोजनाको कार्यतालिका प्रभावित हुने देखिएको कम्पनीको भनाइ छ।

आयोजना कार्यालय र निर्माण कम्पनीले संयुक्त रूपमा क्षति मूल्याङ्कन गरी पुनःस्थापना तथा निर्माण कार्यलाई यथाशीघ्र अघि बढाउने तयारी गरिरहेका छन्।

सम्बन्धित
- Advertisment -



लोकप्रिय