Preeti to Unicode

Unicode to Preeti

नरेन्द्रप्रकाश सिटौलाको सन्देश लोकार्पित

मेचीनगर । साहित्य सर्जक नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित तेस्रो कृति सन्देश आज धुलाबारीमा लोकार्पण गरिएको छ ।

त्रिफला राष्ट्रिय पुस्तकालयको ३१औं स्थापना दिवसको सन्दर्भ पारेर यहाँ आयोजित विशेष कार्यक्रमका बीचमा उक्त निवन्ध संग्रहको लोकार्पण गरिएको हो ।

त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष एवम् स्थापना दिवस कार्यक्रमका अध्यक्ष प्रेमप्रकाश फलाहारी, प्रमुख अतिथि शिक्षासेवी जयनारायण ढुंगाना, शिक्षासेवी हरिचरण बानियाँ, अञ्जना ढुंगाना तथा पुस्तकका लेखक नरेन्द्रप्रकाश सिटौलाले संयुक्तरुपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।

लोकार्पित पुस्तकमाथि साहित्यकार गोसा झापालीले संक्षिप्तमा टिप्पणी गर्नुभएको थियो । पुस्तकमाथि चर्चा गर्दै झापालीले एउटा शीर्षक र अर्को शीर्षकमा कुनै कुरा नदोहोरिने गरी लेखकले फरक फरक ४२ वटा सन्देश दिनुभएको आफूले पाएको जनाउनु भयो ।

हरेक उमेर समूहका लागि मात्र होइन, प्रशासक, शिक्षक, पत्रकार वा राजनीतिक व्यक्तिहरुलाई जिम्मेवारी नभुल्न सुझावसहित सन्देश प्रदान गर्नुभएको समीक्षक झापालीको भनाई थियो ।

आफ्नो ७९ वर्षे उमेरसम्ममा देखे भोगेका र अनुभव गरेका तीतामीठा पलहरुबाट प्राप्त शिक्षालाई अरुसमक्ष सन्देशका रुपमा बाँड्नका निम्ति उक्त कृति तयार भएको लेखक सिटौला बताउनु हुन्छ ।
उक्त कृतिकाे सम्पादन पत्रकार गाेपाल काफ्लेले र लेआउट डिजाइन पत्रकार सन्ताेष शर्माले गर्नुभएको हाे ।

स्रष्टा सिटौलाको पहिलो कृति मेरो कथाका पानाहरु वि. सं. २०७० सालमा र दोस्रो कति अनुभव र अनुभूति वि. सं. २०८१ सालमा प्रकाशन भइसकेका छन् ।

सम्बन्धित
- Advertisment -



लोकप्रिय