पत्रकारितामा आचारसंहिताको प्रभावकारी कार्यान्वयन र स्थानीय रिपोर्टिङमा उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले झापाको बिर्तामोडमा पत्रकार आचारसंहिता जागरण तथा स्थानीय रिपोर्टिङ बहस कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा आयोजित कार्यक्रममा प्रेस काउन्सिल नेपाल र आन्तरिक मामुला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहकार्य रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी शिव गाउँले स्थानीय तह रिपोर्टिङका विषयमा प्रकाश पार्दै पत्रकारितामा देखिएका चुनौतीका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
उहाँले पत्रकारहरूले स्थानीय सरकारका नीतिनियम, बजेट, सेवा प्रवाह, पारदर्शिता र जनउत्तरदायित्वजस्ता पक्षमा खोजमूलक र जिम्मेवार रिपोर्टिङ गर्नुपर्नेमा जोड दिनुभयो ।
गाउँलेले स्थानीय तहमा पत्रकारले खबरदारीको भूमिका निर्वाह गर्दा आचारसंहिताको पनि पुर्ण रुपले पालना गर्नुपर्ने बताउनुभयो ।
उहाँले पत्रकारिता पेशालाई मर्यादित र व्यवस्थित बनाउन पत्रकारहरु निष्पक्ष र पारदर्शी हुनुपर्ने बताउनुभयो । त्यस्तै, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकार आचारसंहिता जागरण सम्बन्धी प्रशिक्षण दिनुभयो ।
उहाँले प्रेस काउन्सिलद्वारा जारी आचारसंहिताका प्रावधानहरू, तिनको प्रयोग, कार्यान्वयनका चुनौती र पत्रकारहरूको भूमिका सम्बन्धमा विस्तृत जानकारी गराउनुभयो ।
भुसालले समाचार तयार गर्दा देखिने व्यावहारिक समस्याहरू र समाधानका उपायबारे सहभागीहरूसँग अन्तरक्रिया समेत गर्नुभयो । कार्यक्रममा बहस सहित पत्रकारहरुबिच अन्तरसम्वाद गरिएको थियो ।
कार्यक्रममा झापाका विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकार, सम्पादक, रिपोर्टर, पत्रकारिता विद्यार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।
सहभागीहरूले डिजिटल युगमा देखिएका पत्रकारिताका चुनौतीहरू, अनलाइन तथा सामाजिक सञ्जालमा देखिने अराजकता, तथ्यको पुष्टि, स्रोत संरक्षण, र प्रेस स्वतन्त्रताको सही प्रयोगबारे गहन छलफल गरेका थिए ।