सरकारको निर्णय कार्यान्वयन गर्दै टिकटक तत्काल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ।
केही इन्टरनेट प्रदायक नेटवर्कमा टिकटक अझै चलिरहेको हुनाले तत्काल रोक लगाउने सम्बन्धमा प्राधिकरणले मंगलबार सूचना जारी गरेको हो।
प्राधिकरणद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषदको २०८०/०७/२७ गतेको बैठकबाट सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट निर्देशन दिइसकेकोमा केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र प्रयोग भइरहेको भन्ने बुझिन आएकाले तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सवै सेवा प्रदायकहरुलाई अनुरोध गरिएको छ।’
यो निर्देशन/आदेश पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्ने व्यहोरा समेत सूचनामा उल्लेख छ।