Preeti to Unicode

Unicode to Preeti

‘झापा रकस्टार’ सिजन–३ को ग्रान्ड फिनाले असार २६ गते

बिर्तामोड । पूर्वकै चर्चित सांगीतिक प्रतियोगिता ‘झापा रकस्टार’ सिजन–३ को ग्रान्ड फिनाले असार २६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा हुने भएको छ। कोशी प्रदेशस्तरीय प्रतियोगितामा फिजिकल अडिसनबाट छनोट भएका पाँच ब्यान्डले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले प्रतियोगिताको विजेता ट्रफी सार्वजनिक गरेको छ। साथै, जगदम्बा मोटर्सको टिभिएस प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा रहने घोषणा गरिएको छ। आयोजक समितिका अध्यक्ष अमृत पौडेलले ‘झापा रकस्टार’ केवल प्रतियोगिता मात्र नभई संगीतप्रेमी र नयाँ प्रतिभालाई एउटै मञ्चमा जोड्ने सांगीतिक उत्सवका रूपमा स्थापित हुँदै गएको बताए।

कार्यक्रममा टिभिएसका नेसनल सेल्स हेड हरि न्यौपानेले प्रतियोगितामार्फत युवासँग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै सोही अवसरमा टिभिएस अपाचे आरटीआर १६० को क्षेत्रीय (रिजनल) लन्चसमेत गरिने जानकारी दिए। उनले उत्कृष्ट एक ब्यान्डलाई टिभिएसको ब्रान्ड गीत निर्माण गर्ने अवसरसमेतप्रदान गरिने बताए।

कार्यक्रम निर्देशक सुनिता तामाङका अनुसार प्रतियोगिताको फाइनलको तयारी अन्तिम चरणमा पुगेको छ। फाइनलमा आवाज ब्यान्ड (इलाम), यात्री ब्यान्ड (चारआली), बास क्लेफ ब्यान्ड (बिर्तामोड), राग भर्स (बिर्तामोड) र जेनियम ब्यान्ड (धुलाबारी) बीच प्रतिस्पर्धा हुनेछ। उनका अनुसार संगीतकार संजीव सुब्बा, गायक तथा संगीतकार सहदेव लामा र अर्जुन दाहाल फिनालेका निर्णायक रहनेछन्।

वैशाख ५ गतेदेखि डिजिटल आवेदन खुला गरिएको प्रतियोगितामा १२ वटा ब्यान्ड सहभागी भएका थिए। असार १५ गते सम्पन्न फिजिकल अडिसनपछि पाँच उत्कृष्ट ब्यान्ड फाइनल चरणमा पुगेका कार्यक्रमका जनसम्पर्क अधिकृत प्रकाश संग्रौलाले जानकारी दिए।

अमृत स्टोरको प्रस्तुतिमा तथा एनएसएस इभेन्ट्सको व्यवस्थापनमा आयोजना भइरहेको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित म्युजिक भिडियो निर्माण गर्ने अवसर प्राप्त गर्नेछन्। दोस्रो हुने ब्यान्डले ३० हजार रुपैयाँ र तेस्रो हुने ब्यान्डले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै विजेता टोलीहरूले विभिन्न ब्रान्डका गितार तथा पोर्टफोलियो सुटको अवसरसमेत पाउने आयोजकले जनाएको छ।

सम्बन्धित
- Advertisment -


लोकप्रिय