झापा, बिर्तामोड — झापाली स्रष्टा नगेन्द्र प्रसाईको स्वर, शब्द तथा संगीतमा तयार नेपाली भजन ‘पाथिभरा अम्बे भवानी’ र लोकगीत ‘साहुबाकी छोरी’ एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
आज झापाको बिर्तामोडस्थित साहित्य चौतारीको सभाहलमा आयोजित कार्यक्रममा साहित्य चौतारी नेपालका संस्थापक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले प्रोजेक्टरको स्विच अन गरी गीतको सार्वजनिकरण गर्नुभएको हो।
भजन ‘पाथिभरा अम्बे भवानी’ तथा ‘साहुबाकी छोरी’ गीतको छायांकन इलामको फिकलसहित झापाका विभिन्न स्थानहरूमा गरिएको छ। म्यूजिक भिडियोमा संजय शिवाकोटी, जीना अधिकारी, शिशिर प्रसाई, मञ्जु धिमाल, निरज पोखरेल र पवन ढकाललगायत कलाकारहरूको अभिनय रहेको छ।
भिडियोको छायांकन पवन ढकाल र कवि गुरागाईंले गरेका हुन् भने सम्पादन भरत भावुक प्रसाई र कवि गुरागाईंले गरेका छन्। कोरसमा भरत भावुक प्रसाई र निरज पोखरेल रहेका छन् भने निर्माण कमला शिवाकोटीले गर्नुभएको हो।

भक्तिभावले ओतप्रोत ‘जय बोलौँ पाथिभरा अम्बे’ भजनमा धार्मिक आस्था र सांस्कृतिक चेतनाको सशक्त अभिव्यक्ति प्रस्तुत गरिएको छ। त्यस्तै ‘साहुबाकी छोरी नाम रहेछ गोरी’ लोकगीतमा चुड्के भाकाको मिठाससँगै आधुनिक पुस्ताको चाहनालाई समेटिएको भिडियोका निर्देशक भरत भावुक प्रसाईले बताउनुभयो।
गायक तथा संगीतकार प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्देशक प्रसाईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा साहित्य चौतारीका संस्थापक सचिव खीलराज शिवाकोटी तथा गायक प्रसाईलाई निर्देशककी आमा पवित्रा प्रसाईले दोसल्ला ओढाएर तथा टिका लगाई सम्मान गर्नुभएको थियो।
बिमोचन कार्यक्रममा विशिष्ट अतिथि शिवाकोटीले गीत अत्यन्तै सुन्दर बनेको र युवाहरूको प्रिय बन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले निर्देशन पक्षको प्रशंसा गर्दै गीत उत्कृष्ट बनेको उल्लेख गर्नुभयो।
नेपाल पत्रकार महासंघ शाखाका सह–सचिव तथा खबरखेती डट कमका सम्पादक तिलक योञ्जनले म्यूजिक भिडियो अहिलेका युवाको रुचिअनुसार बनेको बताउनुभयो। उहाँले पत्रकारितासँगै कलाकारितामा सक्रिय प्रसाईलाई निर्देशन क्षमतामा अब्बल पाएको उल्लेख गर्नुभयो।
कलाको उर्वरभूमि झापाले फेरि अर्को गायक पाएको बताउँदै उहाँले दुवै गीतले नेपाली सांगीतिक क्षेत्रमा अमूल्य सिर्जना थप गरेको बताउनुभयो।
झापाली स्रष्टा नगेन्द्र प्रसाईले अब गायनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले पाथिभरा प्रति समर्पित म्यूजिक भिडियो उत्कृष्ट बनेको बताउनुभयो। उहाँले साहित्य चौतारीले सधैं प्रतिभाहरूको क्षमता प्रस्फुटन गर्न नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो।
म्यूजिक भिडियो ‘नगेन्द्र’ युट्युब च्यानलमार्फत हेर्न सकिने प्राविधिक संयोजक निरज पोखरेलले जानकारी दिनुभयो।
कार्यक्रमको सञ्चालन मोडल तथा साहित्यकार जीना अधिकारीले गर्नुभएको थियो।

