झापा, बिर्तामोड — इलामे लोकगायक तथा गीतकार देवीप्रसाद गौतमद्वारा लिखित गीति–संग्रह ‘पाँचकोरी थुँगा’ साहित्य चौतारी बिर्तामोडको आयोजनामा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।
साहित्य चौतारीका पूर्वअध्यक्ष एवं संगीतकार हस्त परियार, सल्लाहकार संयोजक राजेन्द्र संग्रौला, मञ्जु विमली, कृतिकार देवीप्रसाद गौतम, चन्द्रकुमारी बराल गौतम, अनिरुद्र ओली साहित्य चौतारी बिर्तामोडका अध्यक्ष देवीभक्त श्रेष्ठले तथा कृतिका समीक्षक जय नारायण भट्टराईलगायतले संयुक्त रूपमा गीति–संग्रहकाे लोकार्पण गरेका थिए ।

१ सय ३६ पृष्ठमा प्रकाशित कृतिमा १ सय वटा गीत समावेश छन्। तीमध्ये २० वटा गीतमा स्वराङ्कन भइसकेको छ भने २२ वटा गीत रेकर्डसमेत भइसकेका छन्।
संग्रहभित्र आमाको रोदन, संगिनी २, छोरीको बिलौना, समयले कसैलाई पर्खन्न, किन जाने विदेशमा, झुपडीमा दिल हाँस्छ, छातीभरि चोट, मेरो बाँझो भयो दिल लगायत सामाजिक, पारिवारिक, देशप्रेम, पीडा र प्रवासका विविध भाव–विषय समेटिएका गीतहरू समावेश छन्। कृतिको प्रकाशन कृतिकारकी जीवनसाथी चन्द्रकुमारी बराल गौतमले गर्नुभएको हो।
कार्यक्रम साहित्य चौतारी झापाका अध्यक्ष तथा संरक्षक देवीभक्त श्रेष्ठको अध्यक्षतामा तथा मदन पुरस्कार विजेता अग्रज साहित्यकार कृष्ण धरावासीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
चाैतारिका पूर्वअध्यक्ष एवं संगीतकार हस्त परियार, सल्लाहकार संयोजक राजेन्द्र संग्रौला, मञ्जु विमली, कृतिकार देवीप्रसाद गौतम, चन्द्रकुमारी बराल गौतम, अनिरुद्र ओली तथा कृतिका समीक्षक जय नारायण भट्टराईलगायत आसिन रहनुभएको थियो।

कार्यक्रमको सञ्चालन साहित्य चौतारी बिर्तामोडका सचिव तुलसीप्रसाद निरौलाले गर्नुभएको थियो भने सल्लाहकार विनोद खनालले स्वागत मन्तव्य राख्नुभएको थियो। अध्यक्ष देवीभक्त श्रेष्ठ र सदस्य मनिषा भट्टराईले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो।

कृतिको लोकार्पणपछि साहित्यकार जय नारायण भट्टराईले कृतिको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै गीतहरूमा लोकसंवेदना, सामाजिक यथार्थ र जीवन–अनुभूतिको गहिरो अभिव्यक्ति रहेको उल्लेख गर्नुभयो। त्यसपछि कृतिकार गौतमले आफ्नो सृजनायात्रा, लोकसंगीतप्रतिको मोह तथा नयाँ पुस्तासम्म मौलिक संस्कृतिको हस्तान्तरण गर्ने उद्देश्यबारे प्रकाश पार्नुभयो।
शुभकामना मन्तव्य दिने क्रममा हस्त परियारले गौतमलाई सांगीतिक क्षेत्रका नक्षत्रका रूपमा चित्रण गर्दै रेडियो नेपालबाट आवाज पास गरी लामो समयदेखि गीत–संगीतमा योगदान पुर्याएको स्मरण गर्नुभयो।
आख्यानकार राजेन्द्र संग्रौलाले उहाँलाई बहुप्रतिभाशाली स्रष्टा बताउँदै निरन्तर सिर्जनाका लागि शुभकामना व्यक्त गर्नुभयो।
प्रमुख अतिथि कृष्ण धरावासीले आफू र गौतम समकालीन स्रष्टा भएको उल्लेख गर्दै साहित्य र संगीतमा समर्पित व्यक्तित्वका रूपमा गौतमलाई अाफुले चिनेकाे बताउनुभयो।

सांगीतिक प्रस्तुतिमा संस्कार सापकोटा, अनिरुद्र ओली, लीलानाथ भट्टराई, इस्पाइन बजगाईंलगायत कलाकारहरूले गीत प्रस्तुत गरी कार्यक्रमलाई संगीतमय बनाएका थिए। इलामे जेठोले मुक्तक वाचन गर्नुभएको थियो।
कार्यक्रममा दुर्गा शर्मा भट्टराई, चित्रदेव कट्टेल, विजय बुढाथोकी, गोपाल लामिछाने, प्रलेस झापा अध्यक्ष लीलाप्रसाद अधिकारी, साहित्यकार पुण्यप्रसाद खरेल, जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवाकोषका अध्यक्ष गोपीकृष्ण प्रसाईं, शनिश्चरे क्याम्पसका पूर्व प्रमुख मोहन ओली, कृष्ण रिजाल, वासुदेव गौतम, मुना पाठक,पत्रकार भरतबाबु प्रसाईंलगायत ५० भन्दा बढी स्रष्टा–कलाकारको उल्लेख्य उपस्थिति रहेको थियो।

कृतिकार गौतम यसअघि २०७९ सालमा ‘लेकबेसीका सुसेली’ गीति–संग्रह तथा २०६०/०६१ मा दुई एकल गीत एल्बम प्रकाशित गरिसक्नुभएको छ। हाल उहाँ इलाम साहित्य, संस्कृति तथा कला प्रतिष्ठानका अध्यक्ष, ज्येष्ठ नागरिक जिल्ला सङ्घ इलामका अध्यक्ष (२०८१), बहुभाषिक सांस्कृतिक कला केन्द्र इलामका अध्यक्ष (२०७८), बुद्धिप्रसाद घिमिरे स्मृति प्रतिष्ठान इलामका उपाध्यक्ष तथा कोशी प्रदेश राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान विराटनगरका सल्लाहकार संयोजकका रूपमा सक्रिय रहनुभएको छ।
साहित्य चौतारीको सभाकक्षमा सम्पन्न कार्यक्रममा साहित्य चौतारी बिर्तामोडका अध्यक्ष देवीभक्त श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै समापन गर्नुभएको थियो।

