Preeti to Unicode

Unicode to Preeti

मेची नेत्रालयको १९औँ वार्षिकोत्सव: काँकरभिट्टामा सिटी सफारी चालकलाई फ्लोरेसेन्ट ज्याकेट र सुरक्षाकर्मीलाई सनग्लास वितरण

काँकरभिट्टा, झापा । झापाको पूर्वी नाका काँकरभिट्टामा सडक सुरक्षा र यात्रीको सुरक्षालाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ एक विशेष कार्यक्रम सम्पन्न भएको छ। मेची नेत्रालयको १९औँ वार्षिकोत्सवको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र काँकरभिट्टा ट्राफिक पोस्टको आयोजना तथा अस्पतालको सहकार्यमा स्थानीय सिटी सफारी चालकहरूलाई फ्लोरेसेन्ट (चमकिलो) ड्रेस र सुरक्षाकर्मीहरूलाई सनग्लास वितरण गरिएको हो।

अस्पतालले आफ्नो स्थापना दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व अन्तर्गत नागरिकको सेवा र सुरक्षासँग जोडेर मनाएको छ। मेची नेत्रालयका म्यानेजर जय प्रकाश पोखरेल “ज्याक” ले अस्पतालले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा समाजसँग प्रत्यक्षरूपमा जोडिने र सडक सुरक्षालाई मुख्य प्राथमिकता दिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो।

सडकमा अहोरात्र खटिने सुरक्षाकर्मी र कर्मचारीको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै काँकरभिट्टामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र भन्सार कर्मचारीहरूलाई आँखाको सुरक्षाका लागि १५० थान पोलराइज्ड सनग्लास (Polarised Sunglass) समेत वितरण गरिएको म्यानेजर पोखरेलले बताउनुभयो।

कागजात दुरुस्त हुनेलाई मात्र ज्याकेट, सुरक्षा ट्र्याकिङमा नयाँ फड्को सडक सुरक्षालाई केन्द्रमा राखेर सुरु गरिएको यस अभियानमा यसपटक विशेष र कडा नियम लागू गरिएको छ। सवारी चालक अनुमति पत्र (License) र सवारीको सम्पूर्ण आवश्यक कागजात दुरुस्त भएका चालकहरूलाई मात्र यो विशेष ज्याकेट प्रदान गरिएको छ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष राईले यस कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पार्नुभएको थियो। इन्स्पेक्टर राईका अनुसार यो व्यवस्थाले कानुनी रूपमा सवारी चलाउनेहरूलाई प्रोत्साहित गर्ने मात्र नभई, भविष्यमा हुनसक्ने कुनै पनि घटना वा दुर्घटनाहरूलाई सजिलै ‘ट्र्याक’ (अनुगमन) गर्न प्रहरीलाई ठुलो मद्दत पुग्नेछ। साथै, सफारीमा यात्रा गर्ने यात्रुहरूले पनि आफ्नो चालकको ज्याकेट नम्बर याद राखेमा, सामान छुटेको अवस्थामा वा अन्य कुनै अप्रिय घटना हुँदा तुरुन्तै चालक र सवारी पहिचान गर्न सहज हुनेछ।

यसअघि पहिलो चरण अन्तर्गत गत मे १ अर्थात् मजदुर दिवसको अवसरमा २०० थान फ्लोरेसेन्ट ज्याकेट वितरण गरिएको थियो। सोही अभियानलाई निरन्तरता दिँदै आज अस्पतालको १९औँ वार्षिकोत्सवको अवसर पारेर थप २०० थान ज्याकेट वितरण गरिएसँगै कुल ४०० जना सिटी सफारी चालकहरू लाभान्वित भएका छन्। रात्रिकालीन समय र कुहिरो लागेको बेला सवारी दुर्घटना न्यूनीकरण गर्न यो विशेष चमकिलो ज्याकेटले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

 

विगत १९ वर्षदेखि यस क्षेत्रमा गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको मेची नेत्रालय र ट्राफिक प्रहरीको यो संयुक्त प्रयासलाई स्थानीय बासिन्दा, बुद्धिजीवी र यातायात व्यवसायीहरूले निकै सह्रानीय कदम भन्दै प्रशंसा गरेका छन्।

सम्बन्धित
- Advertisment -


लोकप्रिय