Preeti to Unicode

Unicode to Preeti

मछिन्द्रले जित्यो झापा गोल्डकपको उपाधि

 

 

बिर्तामोड । मछिन्द्र फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप (विनोद बस्नेत स्मृति संस्करण) को उपाधि जितेको छ। अधिकांश झापाली खेलाडी सहभागी मछिन्द्रले पहिलोपटक झापा गोल्डकपको उपाधि उचालेको हो।

उपाधिसँगै मछिन्द्रले नगद १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता एपिएफले ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। यो वर्ष नेपालकै सबैभन्दा बढी पुरस्कार राशि भएको प्रतियोगिता झापा गोल्डकप बनेको छ।

खेलको प्लेयर अफ द म्याच मछिन्द्रका प्रदिप बुढाथोकी घोषित भए। उनले २५ हजार रुपैयाँ नगद पाए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पेमा तामाङ भए। उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल प्राप्त गरे। उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक प्रवेश कटवाल र उच्च गोलकर्ता जोनाथन जोरिल्ला घोषित भए। उनीहरूले जनही ३५ हजार रुपैयाँ र ट्रफी पाए।

टिकट लिएर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडकी प्रिती मोक्तानले यामाहा कम्पनीको एक स्कुटर प्राप्त गरिन्।

खेलको ३१औँ मिनेटमा प्रदिप बुढाथोकीले अयोला हमजातको पासमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। पहिलो हाफको ४५औँ मिनेटमा देवेन्द्र तामाङको लामो प्रहारमा फ्रयाङक अनोहले गोल थपे। ८३औँ मिनेटमा अयोला हमजातकै कर्नरमा डिफेण्डर अलिसन अलिजोनोभले गोल गर्दै अग्रता ३–० पुर्‍याए।

पहिलो हाफमा २–० ले पछि परेको एपिएफले दोस्रो हाफमा दबाब बढायो। ८२औँ मिनेटमा विश्वास उदासको फ्रिकिक क्लियर गर्न नसक्दा दिपेश धिमालले गोल फर्काए। ७६औँ मिनेटमा मानबहादुर राना मगर दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाएपछि एपिएफ १० खेलाडीमा सीमित भएको थियो।

यसैबीच, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य नरोत्तम गौतमलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र, एपिएफ, लालिगुराँस एसोसिएसन नेपाल पोखरा, चर्च ब्वाइज युनाइटेड, आयोजक झापा–११, भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको आरटिसी भुटान र मलेसियाको एन पेनाङ एफसीको सहभागिता रहेको थियो।

विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, किंग्सबेरी इन्टरटेन्मेन्टका जानु धिताल र जमुना धिताल, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल तथा आयोजक झापा गोल्डकपका अध्यक्ष केदार गिरीलगायतले पुरस्कार वितरण गरेका थिए।

सम्बन्धित
- Advertisment -



लोकप्रिय