काठमाडौ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को क्वाटरफाइनल समिकरण पूरा भएको छ ।
प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार बिहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने टोलीको टुङ्गो लागेको हो । साथै क्वाटरफाइनलमा सबै टिमको प्रतिद्वन्दी पनि तय भइसकेको छ ।
क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ६ टिम पुग्दा दक्षिण अमेरिका र अफ्रिकाबाट १–१ टिम मात्र पुगेका छन् ।
कीर्तिमानी पाँच पटकको विजेता ब्राजिलसँगै तीनवटै आयोजक राष्ट्रहरु अमेरिका, मेक्सिको र क्यानडा भने अन्तिम १६ बाटै बाहिरिए । यस्तै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि अन्तिम १६ बाटै बाहिरियो ।
साविक विजेता अर्जेन्टिनासहित पूर्व विजेताहरु फ्रान्स, स्पेन र इंग्ल्यान्डले अन्तिम ८ मा स्थान बनाएका छन् ।
अब एक दिनको ब्रेकपछि क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछन् ।
क्वाटरफाइनलको पहिलो खेल साविक उपविजेता फ्रान्स र २०२२ को सेमिफाइनलिस्ट मोरक्कोबीच हुनेछ । यी दुई टोली चार वर्षअघि कतारमा सेमिफाइनलमा भिडेका थिए । जहाँ फ्रान्स मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । यस पटक त्यस खेलको रिम्याच जस्तै हुनेछ ।
यस्तै सन् २०१० को विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वाटरफाइनलमा खेल्नेछ । स्पेन १६ वर्षपछि र बेल्जियम ८ वर्षपछि विश्वकपको क्वाटरफाइनल पुगेका हुन् । सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यसयता पहिलो पटक क्वाटरफाइनल खेल्दैछ । बेल्जियम भने सन् २०१८ मा चौथो भएको थियो र २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।
यसैगरी पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वाटरफाइनलमा सन् १९६६ को विश्वकप विजेता इंग्ल्यान्डको सामना गर्नेछ । २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ब्राजिललाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । सन् १९६६ को विजेता इंग्ल्यान्डले भने त्यसयता फाइनल समेत पुग्न सकेको छैन ।
यस्तै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्ड अन्तिम क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । १९औं पटक विश्वकप खेलिरहेको अर्जेन्टिनाले ६ पटक फाइनल खेल्दा ३ पटक विश्वकप उपाधि जितेको छ र ६४ वर्षपछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने लक्ष्यमा छ । स्विट्जरल्यान्ड ७२ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
अन्तिम ८ को खेल तालिका यस्तो हुनेछ :
फ्रान्स र मोरक्को, असार २६ गते राति १ः४५ बजे, बोस्टन स्टेडियम
स्पेन र बेल्जियम, असार २७ गते राति १२ः४५ बजे, लस एन्जल स्टेडियम
नर्वे र इंग्ल्यान्ड, असार २८ गते राति २ः४५ बजे, मायमी स्टेडियम
अर्जेन्टिना र स्विट्जरल्यान्ड, असार २८ गते बिहान ६ः४५ बजे, कान्सास सिटी स्टेडियम


