बिर्तामोड । नेपाल अर्थोपेडिक एशोसिएसन (एनओए)को ३१औं वार्षिक सम्मेलन तथा अर्थोकोन २०२६ पहिलोपटक झापामा आयोजना हुने भएको छ। आयोजक समितिले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी कार्यक्रम तयारीबारे जानकारी दिएको हो।
कार्यक्रम माघ २९ गतेदेखि फागुन ३ गतेसम्म चार दिनसम्म चल्नेछ। माघ २९ गते बिर्तामोडका विभिन्न अस्पतालमा प्रि–कन्फरेन्स वर्कशप सञ्चालन हुनेछ भने फागुन १–३ गते होटल मेची क्राउन, धुलाबारीमा मुख्य अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिनेछ।
अर्थोकोन २०२६ मा १०० भन्दा बढी अन्तर्राष्ट्रिय हाडजोर्नी विशेषज्ञ चिकित्सक र नेपालबाट ४०० भन्दा बढी चिकित्सक सहभागी हुनेछन्। आयोजक समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद मैनालीले जानकारी दिए।
डाक्टर प्रेमबहादुर शाहीले भने, झापाको भौगोलिक अवस्थाका कारण नेपाल, भुटान, भारत र बङ्गलादेशसँग एनओएको सम्बन्ध सुमधुर रहेको छ।
कार्यक्रमका लागि कोशी प्रदेश सरकारले ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै, औषधि र इम्प्लान्ट कम्पनी, स्थानीय संघ संस्था तथा व्यवसायीहरूको सहयोग पनि रहनेछ।
उद्घाटन समारोहमा झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल प्रमुख अतिथि रहनेछन्। अन्य सुरक्षा प्रमुख, अस्पताल सञ्चालक तथा मेडिकल सुपरिटेन्डेन्टहरू पनि कार्यक्रममा सहभागी हुने आयोजक समितिका महासचिव रूपेशजंग बेलबासेले जानकारी दिए। डा. नागमणि सिंहले चिकित्सकहरूको महाकुम्भ सफल बनाउन सबैलाई सहयोगको आग्रह पनि गरेका छन्।

