बिर्तामोड । झापामा पठन संस्कृतिको विकासलाई लक्ष्य गर्दै ‘पठन संस्कृति वर्ष २०२६’ घोषणा गरिएको छ । झापाका १०० भन्दा बढी सामाजिक, साहित्यिक तथा व्यावसायिक संघसंस्थाहरूको सामूहिक अभियानअन्तर्गत उक्त घोषणा गरिएको हो
बिर्तामोडमा सोमबार आयोजित विशेष कार्यक्रममा लेखक तीर्थ सिग्देलको कृति ‘त्यो झापा’ (इतिहास) र लेखक हेम गुरागाईंको उपन्यास ‘दिगो समाधान’ विमोचनसँगै पठन संस्कृति वर्ष २०२६ घोषणा गरिएको हो ।
कार्यक्रममा अपस्थित अतिथीहरुलाई कार्यक्रमका सह–संयोजक केशव मैनालीले स्वागत गर्दै कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै लेखक तीर्थ सिग्देलले सन् २०२६ लाई पठन संस्कृति वर्षका रूपमा मनाउन सामाजिक स्तरबाट अभियान सुरु गरिएको र यसलाई सरकारी कार्यक्रमका रूपमा अघि बढाउन सरकारसमक्ष ज्ञापन पत्रमार्फत आग्रह गरिने बताए ।
उनका अनुसार पठन संस्कृतिको विकासका लागि संघसंस्था, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व तथा विद्यार्थीहरूलाई लक्षित गर्दै सन्देशमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
अभियानअन्तर्गत सबै संघसंस्थासँग सहकार्य गरी विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने, स्थानीय तहसहित सरोकारवाला संस्थाहरूको सहभागितामा शैक्षिक सरोकार समिति गठन गर्ने तथा समाजमा पठन संस्कृतिको प्रभाव विस्तार गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
कार्यक्रममा सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले झापामा रहेका अस्पतालहरूमा कुरुवाका लागि पुस्तक पढ्ने स्थानको व्यवस्था हुनुपर्ने बताए ।
साहित्य, कला र संस्कृतिलाई समेट्ने कार्यक्रमका लागि एक करोड रुपैयाँको अक्षय कोष स्थापना गर्न अभियान चलाउनुपर्ने उनको सुझाव थियो ।
साथै, हरेक कार्यक्रममा मायाको चिनोका रूपमा पुस्तक उपहार दिने, बच्चाको मुख हेर्न जाँदा पुस्तक लैजाने र यात्रामा पुस्तक बोक्ने संस्कृतिलाई फेशनका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

