राष्ट्रिय फोटो पत्रकार समूह झापाको बैठक मेचीनगर नगरपालिका–स्थित कालिका सिमसारमा सम्पन्न भएको छ। समूहका अध्यक्ष नेत्रविक्रम बिमलीको अध्यक्षता तथा कोशी प्रदेश सरकारका खानेपानी तथा सिँचाइ मन्त्री माननीय एकराज कार्कीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
बैठकले झापा जिल्लामा रहेका सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारलाई प्रभावकारी बनाउने उद्देश्यसहित फोटो पत्रकारहरूको सीप विकासका लागि तालिम तथा फोटो प्रदर्शनी आयोजना गर्ने निर्णय गरेको छ। उक्त कार्यक्रममार्फत झापाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।
प्रमुख अतिथि मन्त्री कार्कीले फोटो पत्रकारिताले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै, प्रस्तावित तालिम तथा फोटो प्रदर्शनी कार्यक्रमका लागि आवश्यक पहल, समन्वय र सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो।
बैठकमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुव्रत न्यौपाने, सल्लाहकार सदस्यहरू, कार्यसमिति सदस्यहरू तथा अन्य फोटो पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले फोटो पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाबारे समेत धारणा राखेका थिए।
बैठकको सहजीकरण बालबालिका तथा शिक्षा समाज झापाका अध्यक्ष तथा राष्ट्रिय फोटो पत्रकार समूह झापाका सल्लाहकार सदस्य सरोज पौडेलले गर्नुभएको थियो। बैठक सफलतापूर्वक सम्पन्न गराउन उहाँले पुर्याउनुभएको योगदानप्रति समूहले विशेष धन्यवाद व्यक्त गरेको छ।
राष्ट्रिय फोटो पत्रकार समूह झापाले आगामी दिनमा पत्रकारहरूको क्षमता अभिवृद्धि र झापाको कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
राष्ट्रिय फोटो पत्रकार समूह झापाको बैठक सम्पन्न, सांस्कृतिक–पर्यटकीय प्रवर्द्धनमा जोड
सम्बन्धित

