Preeti to Unicode

Unicode to Preeti

पठन संस्कृति वर्ष २०२६’ अभियान घोषणा

झापा। झापा जिल्लाको बौद्धिक, सामाजिक तथा शैक्षिक रूपान्तरणलाई लक्ष्य गर्दै १०० भन्दा बढी साहित्यिक, सामाजिक र व्यावसायिक संघसंस्थाहरूको सामूहिक सहभागितामा ‘पठन संस्कृति वर्ष २०२६’ अभियानको औपचारिक घोषणा कार्यक्रम आयोजना गरिने भएको छ।

झापाको विकास र समृद्धिको आधार समाजको बौद्धिक उन्नति भएको ठहर गर्दै सामाजिक स्तरबाटै पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियान सुरु गर्न लागिएको हो। कार्यक्रममा अभियानको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक तीर्थ सिग्देलले पठन संस्कृतिले समाजलाई चेतनशील, समालोचनात्मक र सिर्जनशील बनाउने भएकाले यसलाई जनआन्दोलनकै रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो।

IMG_2393

अभियान अन्तर्गत सन् २०२६ भरि विभिन्न रचनात्मक, सहभागितामूलक तथा सन्देशमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। साहित्यिक गोष्ठी, पठन अभियान, विद्यालयस्तरीय लेखन तथा पत्रकारिता कक्षा, सार्वजनिक वाचन कार्यक्रमलगायत गतिविधिमार्फत विद्यार्थी, युवापुस्ता र आम समुदायमा पठन संस्कृतिको विकास गरिने जनाइएको छ।

साथै, यो अभियानलाई सरकारी कार्यक्रमका रूपमा अगाडि बढाउन सरकारलाई ज्ञापनपत्रसमेत बुझाइने तयारी गरिएको छ।

कार्यक्रममा हेम गुरागाईंद्वारा लिखित दिगो समाधान उपन्यास र लेखक तीर्थ सिग्देलद्वारा लिखित त्यो झापा इतिहास पुस्तकको संयुक्त विमोचन गरिनेछ। विशेष मन्तव्यका रूपमा झापाको इतिहासमाथि वरिष्ठ अधिवक्ता तथा लेखक लीला उदासी, समाज विकासमा अभियानको भूमिकाबारे सहकारी सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी, तथा पठन संस्कृतिले समाजमा पार्ने प्रभावबारे अभियन्ता तथा लेखक केदार शर्माले आफ्ना विचार प्रस्तुत गर्नुहुनेछ।

पठन संस्कृति वर्ष २०२६ को घोषणासन्दर्भमा अभियानका लागि अभियन्ताका अध्यक्ष प्रकाश गुरुङले समाज समृद्ध बन्न शिक्षित हुनु अनिवार्य भएकाले अध्ययन–अभ्यासलाई व्यापक बनाउने लक्ष्यसहित २०२६ लाई पठन संस्कृति वर्षका रूपमा मनाउन लागिएको बताउनुभयो।

1 1

उहाँले झापाका सबैभन्दा धेरै सामाजिक संस्थाहरूको साझा अभियानका रूपमा सुरु गरिएको यस पहलले समाज रूपान्तरणमा रचनात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, वीरता रिडर्सका संयोजक तथा कार्यक्रम संयोजक तीर्थ सिग्देलले पठन संस्कृतिको विकास सबैको सामूहिक प्रयासबाट मात्र सम्भव हुने उल्लेख गर्दै निजी विद्यालयहरूसँग संवाद भइरहेको र विद्यालयहरूमा साहित्य, पत्रकारिता, लेखन तथा पठन संस्कृतिसम्बन्धी कक्षा सञ्चालनका लागि तयारी गर्न सकिने बताउनुभयो।

कार्यक्रममा झापाका १०० भन्दा बढी साहित्यिक, सामाजिक तथा व्यावसायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व र विद्यार्थी गरी २५० भन्दा बढी सहभागीको उपस्थिति रहने अनुमान गरिएको छ।

अभियानका मुख्य आयोजकमा अभियानका लागि अभियन्ता, वीरता रिडर्स, अभियान नेपाल, झापाली साहित्य समाज, एमआरसी बुक्स, मिडिया रिसर्च सेन्टर, ईसा बुक्स सेन्टरलगायत रहेका छन्।

कार्यक्रमको मिडिया संयोजन साहित्य पत्रकार मञ्चले गरेको छ।

कार्यक्रममा साहित्य पत्रकार मञ्चका सल्लाहकार कुमार भट्टराई, दिपिन रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्य, प्रेस काउन्सिल नेपालका सदस्य तथा नेपाल पत्रकार महासङ्घ झापा शाखाका पूर्व अध्यक्ष गणेश पोखरेल, जापानी साहित्य समाजका अध्यक्ष हरि बराल, ईसा बुक्स सेन्टरका सञ्चालक तथा कार्यक्रमका सहसंयोजक केशव मैनाली, सामाजिक व्यक्तित्व सन्तोष अग्रवाललगायत झापाली पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

पठन संस्कृतिलाई सामाजिक आन्दोलनका रूपमा स्थापित गर्ने लक्ष्यसहित सुरु हुन लागेको यो अभियानलाई झापाको बौद्धिक इतिहासमा नयाँ आयाम थप्ने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

सम्बन्धित
- Advertisment -


लोकप्रिय