Preeti to Unicode

Unicode to Preeti

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन भदौ २१ मा, कोषाध्यक्षमा सन्जु तिम्सिना(भोले बाबा) को उम्मेदवारी

प्रकाश बानियाँ : मेचीनगर । मेचीनगर–११ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन आगामी भदौ २१ गते हुने भएको छ । निर्वाचन समितिले सोमबार सर्वपक्षीय भेलामार्फत कार्यतालिका सार्वजनिक गर्दै निर्वाचनको प्रक्रिया अगाडि बढाएको हो ।

निर्वाचन समितिका संयोजक सन्तोषकुमार मेचेका अनुसार निर्वाचन समितिको कार्यालय वडा नं–११ को कार्यालयमा स्थापना गरी आवश्यक सम्पूर्ण कार्य अघि बढाइनेछ । समितिका सचिव टंककुमार रिजालले दलगत सहमति र सुझावलाई समेट्दै निर्वाचन निष्पक्ष ढंगले सम्पन्न गरिने बताए ।

सार्वजनिक कार्यतालिका अनुसार गत भदौ ४ गते मतदाता नामावली प्रकाशन र भदौ ५ गते नामावली उपर दावी–विरोध दर्ता गर्ने कार्य भइसकेको छ। अन्तिम मतदाता नामावली टुंगो लागेपछि भदौ २१ गते बलभद्र जनता माध्यमिक विद्यालयमा निर्वाचन गरिनेछ ।

यसपालिको निर्वाचनमा अध्यक्षसहित १५ सदस्यीय कार्यसमिति र पाँच सदस्यीय लेखा समिति चयन गरिनेछ। सोही क्रममा जुजारु युवा, समाजसेवी सन्जु तिम्सिना(भोले बाबा)ले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सामुदायिक क्षेत्रमा सक्रिय भोले बाबाको उम्मेदवारीलाई धेरै उपभोक्ताले स्वागत गरेका छन् ।

निर्वाचन पूर्व आयोजित सर्वपक्षीय भेलामा नेपाली कांग्रेसका बिरबहादुर तामाङ, एमालेका सागर ओली, माओवादी केन्द्रका नरेन्द्र गछाम, राप्रपाका राजन प्रसाई, वडा नं–१२ का वडा सदस्य विशुलाल मेचे, वडा नं–११ का वडा सदस्य श्याम शिवाकोटी, समूहका अध्यक्ष योगेश भट्टराई लगायतले सुझाव राख्दै निर्वाचनलाई भव्य, स्वच्छ र निष्पक्ष बनाउन जोड दिएका थिए ।

सम्बन्धित
- Advertisment -




लोकप्रिय