गत भदौ ९ र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित परिवारको उद्धारका निम्ति “युथ फर सोसाइटी मेचीनगर”ले राहत संकलनमा अग्रसरता देखाएको छ । मेचीनगर क्षेत्रमा रहेका यूवाहरुको पहलमा भदौ १२ गते शनिबारबाट खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्रीको संकलन कार्य सुरु गरिएको छ ।

लत्ता कपडा, ब्रस टुथपेस्ट, साबुन, पानी संकलन गर्ने ड्रम, त्रिपाल लगायत आवश्यक दैनिक उपभोग्य सामाग्री संकलन गरिरहेको युथ फर सोसाइटी मेचीनगरका संस्थापक सदस्य एवम कोषाध्यक्ष खिरोज बरालले जानकारी दिनुभयो । यो विपदको घडीमा नगद बाहेकका अतिआवश्यक राहत सामाग्री संकलन गरिने र यसका निम्ति अन्य संघ संस्थाहरुसँग समेत समन्वय गरिरहेको अध्यक्ष सागर राजवंशीले बताउनुभयो ।

केहीसमय अघिमात्र मेचीनगरका जुझारु यूवाहरुले आफनो गाउँ, समाज र टोल हँुदै राष्ट्रका निम्ति केही योगदान गर्ने हेतुले “युथ फर सोसाइटी मेचीनगर” को स्थापना गरेका हुन् । तत्पश्चात यूवाहरुको बाहुल्यता रहेको यो संस्थाले गरी विभिन्न सामाजिक कार्य र जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ । राहत संकलनको यो पुण्यकर्ममा रकम नभई राहत सामाग्री सहयोग गर्न चाहनेले समन्वय गरी हातेमालो गर्नसक्ने संस्थापक सदस्य आकाश खातीले जानकारी दिनुभयो ।


