बिर्तामोड, साउन २२। झापाको बिर्तामोड–७ स्थित कञ्चन अङ्ग्रेजी बोर्डिङ स्कुलले विद्यार्थीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा प्रभावकारी सार्वजनिक बोलाइ सीप विकास गर्ने उद्देश्यले उद्घोषण (एन्करिङ) कक्षा सञ्चालनमा ल्याएको छ।
आजबाट औपचारिक रूपमा सुरु गरिएको उक्त कक्षाको सहजीकरण कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी भरत प्रसाईंले गरिरहनुभएको छ।
‘गुणस्तरीय शिक्षा, सुरक्षित भविष्य’ भन्ने मूल नारालाई आत्मसात् गर्दै विद्यालयले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलाप, पठन संस्कृतिको विकास तथा सिर्जनात्मक कार्यक्रम मार्फत विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा निरन्तर जोड दिँदै आएको छ।
विद्यालयका सहायक प्रधानाध्यापक दीपक चम्लागाँईका अनुसार उद्घोषण कक्षाको मुख्य उद्देश्य विद्यार्थीहरूमा रहेको डर हटाई उनीहरूलाई आत्मविश्वासी, स्पष्ट वक्ता र नेतृत्वदायी व्यक्तित्वका रूपमा विकास गर्नु हो।
उहाँले विद्यालयले यसअघि पनि सञ्चालन गरेको उद्घोषण कक्षालाई अझ प्रभावकारी ढंगले पुनः सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।
“विद्यार्थीहरूमा ज्ञान मात्र पर्याप्त हुँदैन, त्यो ज्ञानलाई आत्मविश्वासका साथ प्रस्तुत गर्न सक्ने क्षमता पनि आवश्यक हुन्छ। धेरै विद्यार्थीमा बोल्न सक्ने क्षमता हुँदाहुँदै पनि डरका कारण अभिव्यक्त हुन सकिरहेका हुँदैनन्।
यही कमजोरी हटाउँदै उनीहरूभित्र लुकेको प्रतिभा उजागर गर्ने उद्देश्यले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई प्रत्येक शुक्रबार अतिरिक्त प्रशिक्षण प्रदान गरिनेछ,” उहाँले भन्नुभयो।
पहिलो दिनको पहिलो कक्षापछि कक्षा १० मा अध्ययनरत छात्रा पेक्षा भट्टराईले आफूले विद्यालयमा फरक र जीवनोपयोगी विषय सिक्ने अवसर पाएको बताउँदै विद्यालयप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले उद्घोषण कक्षाले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै भविष्यमा विभिन्न कार्यक्रम, प्रतियोगिता तथा सार्वजनिक जीवनमा समेत उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयले शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकता दिँदै आएको छ।
हाल ६५० भन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयले झापाका विभिन्न अन्तरविद्यालयस्तरीय खेलकुद, सांस्कृतिक तथा सिर्जनात्मक प्रतियोगिताहरूमा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। साथै SEE लगायतका विभिन्न शैक्षिक परीक्षाहरूमा समेत उल्लेखनीय नतिजा निकाल्दै जिल्लामै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयले भविष्यमा पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्दै सञ्चार, नेतृत्व, व्यक्तित्व विकास, सिर्जनशीलता र व्यवहारिक शिक्षासँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। उद्घोषण कक्षाको सुरुवातसँगै विद्यार्थीहरूमा बोल्ने कला, नेतृत्व क्षमता र आत्मविश्वास अभिवृद्धि हुने अपेक्षा विद्यालय परिवारले गरेको छ।


