शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा ४.० जीपीए प्राप्त गर्ने सामुदायिक विद्यालयका दुई जना विद्यार्थीलाई सम्मान गरेको छ।
सोमबार नगरपालिकामा आयोजित कार्यक्रममा भानु माध्यमिक विद्यालय, लालझोडाकी कञ्चन काफ्ले र भानु माध्यमिक विद्यालय, पाराबारीका मञ्जिल नेपाललाई सर्वोत्कृष्ट विद्यार्थीका रूपमा नगदसहित सम्मान गरिएको हो।
उनीहरूलाई नगर प्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले जनही नगद ११ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला प्रदान गर्दै सम्मान गर्नुभएको थियो।
त्यसै अवसरमा नगरपालिकाले चालु आर्थिक वर्षको नगर छात्रवृत्ति कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रका ९५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।
नगरपालिकाका वडा नं. १ देखि ९ सम्मबाट विनियोजित ११ लाख ५ हजार बराबरको छात्रवृत्तिबाट श्री गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयमा अध्ययनरत १५ जना विद्यार्थीलाई सम्बन्धित वडाको सिफारिसका आधारमा छनोट गरी छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
त्यसैगरी, नगर विकास योजना अन्तर्गत विनियोजित १० लाखको छात्रवृत्ति विभिन्न संस्था तथा व्यक्तिमार्फत अध्ययनरत विद्यार्थीलाई वितरण गरिएको छ।
यसअन्तर्गत नेपाल एपीएफ स्कुलमा अध्ययनरत फुटबल खेलाडीसहित प्राविधिक विषयका ७ जना, सताक्षीधाम बहुमुखी क्याम्पसका २३ जना, नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका ५ जना, अनुसन्धान क्षेत्रमा संलग्न ७ जना, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका थप ९ जना, विभिन्न विषयमा अध्ययनरत २७ जना तथा लालपानी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख मेगाहाङ थोप्राको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख छविलाल ढकालले गर्नुभएको थियो।
कार्यक्रममा उपप्रमुख नरमाया कार्की, गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयका अध्यक्ष सन्तोषकुमार मेन्याङ्बो, सताक्षीधाम बहुमुखी क्याम्पसका अध्यक्ष डिल्लीरमण खतिवडा, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापकद्वय डामकुमार कुँवर र गणेश चम्लागाईं, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।


