इलाम । रोङ गाउँपालिका ले असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने योजनाको चाप र समय अभावलाई ध्यानमा राख्दै आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो का अनुसार अब गाउँपालिकाका कार्यालयहरू पुरानै समयतालिकाअनुसार सञ्चालन हुनेछन्।

संघीय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने तथा सरकारी खर्च कटौती गर्ने उद्देश्यले सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। तर रोङ गाउँपालिकाले नयाँ समयतालिकाले सेवा प्रवाह प्रभावकारी बन्न नसकेको निष्कर्ष निकालेको जनाएको छ।
गाउँपालिकाका अनुसार भौगोलिक विकटता र सेवाग्राहीको पहुँचका कारण अधिकांश नागरिक बिहान १० बजाअघि कार्यालय नपुग्ने अवस्था देखिएको थियो। नयाँ समय व्यवस्था लागू भएपछि रोङका कार्यालयहरूमा सेवाग्राहीको उपस्थिति पनि अपेक्षाअनुसार नभएको पाइएको गाउँपालिकाको भनाइ छ।
यसैबीच, गाउँपालिकाको जेठ ४ गते बसेको कार्यपालिका बैठकले जेठ ६ गतेदेखि सामुदायिक विद्यालयबाहेक अन्य सबै कार्यालय पुरानै समयतालिकाअनुसार सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।


