
बिर्तामोड। झापाको बिर्तामोड स्थित कन्चनजङ्गा अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा ‘गुरुभक्त न्यौपाने स्मृति अन्तरविद्यालय आमन्त्रण फुटबल प्रतियोगिता’ आजबाट सुरु भएको छ।
स्वर्गीय गुरुभक्त न्यौपानेको स्मृतिमा आयोजना गरिएको कञ्चनजङ्गा कपको उद्घाटन भव्य कार्यक्रमका बीच सम्पन्न भएको हो।
आज भएको उद्घाटन खेलमा कन्चनजङ्गा अङ्ग्रेजी माध्यमिक विद्यालयले प्यानल्टी सुटआउटमा ५–४ गोल अन्तरले विजय हासिल गर्दै सुखद सुरुवात गरेको छ।
प्रतियोगितामा झापा जिल्लाभरिका सामुदायिक तथा संस्थागत गरी २० वटा विद्यालयको सहभागिता रहेको खेल संयोजक दीपक सिटौलाले जानकारी दिनुभयो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्ली कुमारी न्यौपानेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई रहनुभएको थियो।
विशिष्ट अतिथिका रूपमा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी उपस्थित रहनुभएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक अनन्त कुमार राजवंशीले गर्नुभएको थियो।
प्रमुख अतिथि प्रसाईले स्वर्गीय गुरुभक्त न्यौपानेको तस्बिरमा माल्यार्पण गर्दै पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो।

उद्घाटन समारोहमा कञ्चनजङ्गा स्काउट टोलीले उपस्थित अतिथिहरूलाई सलामी अर्पण गरेको थियो।
कार्यक्रममा प्याब्सन झापाका अध्यक्ष हरिकृष्ण पाठक, शैक्षिक व्यक्तित्व राम सिटौला, न्युटन्स एजुकेशन एकेडेमीका निर्देशक आशिष प्रसाई, देवकुल अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिवाङ्कर मैनाली, निधि माध्यमिक विद्यालयका प्रधानाध्यापक भीष्म प्रसाई, सरस्वती माविका प्रधानाध्यापक दीपक लुइटेल, गोमेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रूपक खनाल, विराट ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश ओली, कञ्चनजङ्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक सम्लागाईं, प्याब्सन नगर समिति अध्यक्ष सुरेन्द्र खरेल, मोफसल अनलाइनका सम्पादक भरत प्रसाई, सरोकार खबरका सम्पादक कवि गुरागाईं,पत्रकार तुलसीप्रसाद निरौला, प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजबंशी लगायत स्थानीय अभिभावक तथा शिक्षासेवीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, प्याब्सन झापा जिल्ला अध्यक्ष हरिकृष्ण पाठक तथा न्युटन्स एजुकेसनका प्रधानाध्यापक देवेन्द्र हुमागाईंले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु. १० हजारसहित ट्रफी र प्रमाणपत्र, द्वितीय हुने टोलीलाई नगद रु. ६ हजारसहित ट्रफी र प्रमाणपत्र तथा तृतीय हुने टोलीलाई नगद रु. ४ हजार ५ सयसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक दीपक सिटौलाले जानकारी दिनुभयो।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण ‘गेम अफ नेपाल’ले गर्नेछ।

