विर्तामोड । झापाको बिर्तामोड–२ मा करिब १० वर्षअघि स्थापना भएको पूर्वाञ्चल प्लाष्टिक पाईप इन्डष्ट्रिज प्रालि निजी कम्पनीबाट सार्वजनिक कम्पनीमा रूपान्तरण भएको छ। कम्पनीले सेवा विस्तार र पूँजी वृद्धि गर्ने उद्देश्यसहित सामूहिक सहभागितामा अघि बढेको हो।
व्यवस्थापनका अनुसार बजारको बढ्दो माग र उद्योग अनुभवलाई ध्यानमा राख्दै द्रुत गतिमा विस्तार गर्न पब्लिकमा रूपान्तरण गरिएको हो। यससँगै कम्पनीको चुक्ता पुँजी १३ करोड रुपैयाँ पुगेको छ र चार जना नयाँ शेयरधनी थपिएका छन्।
कम्पनीले आगामी आर्थिक वर्ष २०८२/८३ मा नयाँ मेसिन जडान, उपकरण खरिद, जग्गा खरीद र चालु पुँजीमा १४ करोड ४१ लाख रुपैयाँ लगानी गर्ने योजना बनाएको छ। यसले वार्षिक बिक्री १५ करोडबाट २५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
आर्थिक वर्ष २०८३/८४ मा थप संरचना र अत्याधुनिक उपकरणमा १२ करोड १० लाख रुपैयाँ लगानी गरिनेछ, जसले बिक्री ६० करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य राखेको छ।
कम्पनीले अब आईपीओमार्फत सर्वसाधारणलाई लगानीको अवसर पनि प्रदान गर्ने तयारी गरिरहेको छ।

