Preeti to Unicode

Unicode to Preeti

सातौँ झापा गोल्डकपको तयारी पूरा

बिर्तामोड । नेपालकै लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। भोलि माघ २४ गतेदेखि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

सातौँ झापा गोल्डकपको उद्घाटन बिर्तामोड नगरप्रमुख पवित्रादेवी महताराले गर्ने कार्यक्रम रहेको छ भने समापन समारोहका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ रहनेछन्।

झापा गोल्डकपलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिताका अध्यक्ष केदारी गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार खेलमैदान निर्माण, प्यारापिट व्यवस्थापनलगायतका सबै काम सम्पन्न भइसकेका छन्।

यस वर्षको झापा गोल्डकपलाई पूर्वअध्यक्ष स्वर्गीय विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको आयोजकले जनाएको छ। बिर्तामोड नगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ भने अन्तर्राष्ट्रिय झापाली समाज, किंग्सबेरी इन्टरटेनमेन्ट र मेची आँखा अस्पताल मुख्य सह–प्रायोजक रहेका छन्।

प्रतियोगिताको विजेता टोलीले नगद १५ लाख रुपैयाँ र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एकथान यामाहाको मोटरसाइकल प्रदान गरिनेछ।

त्यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही नगद ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। दाताबाट प्राप्त सहयोगअनुसार प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, लालीगुराँस एसोसिएसन नेपाल पोखरा, रोयल थिम्पु कलेज भुटान, सिंग्लिङ स्पोर्टिङ क्लब भारत र एन पेनाङ फुटबल क्लब मलेसियाको सहभागिता रहनेछ।

सातौँ संस्करणको उद्घाटनका दिन रंगशाला परिसरमा स्वर्गीय डोमालाल राजवंशीको शालिक अस्थायी रूपमा अनावरण गरिनेछ। साथै झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिनेछ।

यस वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरिने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिनुभयो।

त्यस्तै, हिम इलेक्ट्रोनिक प्रालिको तर्फबाट बिर्तामोडस्थित महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएका एकजना दर्शकलाई ३२ इन्चको एलइडी टिभी प्रदान गर्नेछ भने मोबाइल ग्यालेरी बिर्तामोडको तर्फबाट दुईजना दर्शकलाई एअरबड प्रदान गरिनेछ। प्रतियोगिता अवधिभर टिकट लिएका दर्शकमध्ये एकजनालाई फाइनल खेलका दिन यामाहाको स्कुटरसमेत प्रदान गरिनेछ।

प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ। प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

आज रंगशालामा आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका पूर्वअध्यक्षहरू महेन्द्रकुमार गिरी, होम पाण्डेलगायत तथा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

सम्बन्धित
- Advertisment -



लोकप्रिय