बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिद्वारा आयोजित वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ३ प्रवेश गरेको छ ।
शुक्रबारको जितसँगै वडा नं. ३ ले कम्तीमा ५० हजार रुपैयाँ पुरस्कार निश्चित गरेको छ । वडा नं. ३ ले जितका लागि सडन डेथको सहारा लिनुपरेको थियो ।
सडन डेथमा वडा नं. ३ का प्रयास बुढाथोकीले गोल गरेका थिए भने वडा नं. ५ का रमेश श्रेष्ठको प्रहार गोल किपर अभिषेक बरालले बिफल बनाएका थिए ।
निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेललाई सोझै टाईब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ५ का अङकुर खड्गी, मोहन गुरुङ, राजकुमार बिक र सुुजन बिकको प्रहार गोलमा परिणत भएको थियो । बिक्की चौधरीको प्रहार बाहिरिएको थियो ।
वडा नं. ३ का आशिष चापागाई, सुमेरु थापा, विशाल धिमाल र सन्तोष राईले गोल गरेका थिए भने कप्तान विशाल मर्डीको प्रहार बारमा लागेर फर्किएको थियो ।
खेलको प्लेयर अफ द म्याच वडा नं. ३ का गोलकिपर अभिषेक बराल भए । उनले नगद १ हजार ५०० रुपैयाँ पुरस्कार पाए । आइतबार हुने फाइनल खेल वडा नं. १० र ३ बीच हुने छ ।
प्रतियोगिता भरीको एकजना उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट कोच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट गोल किपर र उत्कृष्ट मिडफिल्डलाई नगद ५ हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजक बिर्तामोड नगर खेलकुद बिकास समितिका सचिव बिसन लिम्बुले जानकारी दिए ।
यस्तै, दोस्रो वडा स्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगितामा बिर्तामोड–५ फाइनलमा प्रवेश गरेको छ । वडा नं. ३ लाई ३–१ ले पराजित गर्दै वडा नं. ५ फाइनलमा प्रवेश गरेको हो ।
वडा नं. ५ ले आइतबार हुने फाइनलमा वडा नं. १० को सामना गर्ने छ । वडा नं. ५ को जितमा अङकुर खड्गीले ह्याट्रिक पुरा गरे । खड्गीले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे ।
बिर्तामोड–३ का लागि एकमात्र गोल डेनि श्रेष्ठले गरे । अरु स्ट्राइकर चल्न नसक्दा बिर्तामोड–३ सेमिफाइनलबाट बाहिरियो । खेलको प्लेयर अफ द म्याच बिजेता वडा न ५ का ह्याट्रिक कर्ता अङकुर खड्गी भए । उनले नगद १ हजार ५०० रुपैया पुरस्कार पाए ।
प्रतियोगितामा नगरपालिकाका ९ वडाका टिमको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए । भेट्रान्सको बिजेताले २५ हजार, उपविजेताले १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष गिरीले जानकारी दिए ।
प्रकाशक :
सम्पादक :
ब्यवस्थापक :
क्यामेरा पर्सन :

