Preeti to Unicode

Unicode to Preeti

मेचीनगर र शिवसताक्षी फाइनलमा प्रवेश

झापाको बुद्धशान्ति गाउँपालिका–४ मा जारी प्रथम सिरिजङ्घा युथ क्लब अन्तरपालिका भलिबल प्रतियोगिता को फाइनलमा मेचीनगर नगरपालिका र शिवसताक्षी नगरपालिका प्रवेश गरेका छन्।

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा मेचीनगर नगरपालिकाले कन्काई नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। खेलको पहिलो सेट कन्काईले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो। त्यसपछि मेचीनगरले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो, तेस्रो र चौथो सेट क्रमशः २५–२३, २५–२० र २५–१६ ले जित हात पार्‍यो।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा शिवसताक्षी नगरपालिकाले भद्रपुर नगरपालिकालाई बेष्ट अफ फाइभको रोमाञ्चक प्रतिस्पर्धामा पराजित गर्दै उपाधि भिडन्त सुनिश्चित गरेको छ। दुवै टोलीले दुई–दुई सेट जित्दै खेल पाँचौँ निर्णायक सेटमा पुगेको थियो। निर्णायक सेटमा शिवसताक्षीले १५–१३ को कठिन जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको आयोजक सिरिजङ्घा युथ क्लबका अध्यक्ष टेकेन्द्र मादेनले जानकारी दिनुभयो।

खेलको पहिलो सेट भद्रपुरले २५–२३ ले जितेको थियो भने दोस्रो सेट शिवसताक्षीले २५–२१ ले आफ्नो पक्षमा पार्‍यो। तेस्रो सेट भद्रपुरले २५–१७ ले जित्दा चौथो सेटमा शिवसताक्षीले लय समाउँदै २५–१५ को जित निकालेर खेल बराबरीमा ल्याएको थियो। अन्ततः पाँचौँ सेटमा शिवसताक्षीले १५–१३ को जित निकाल्दै मेचीनगरसँगको फाइनल भेट पक्का गर्‍यो।

प्रतियोगिताको उपाधि भिडन्त भोलि मङ्सिर २९ गते दिउँसो १२ बजे हुने आयोजकले जनाएको छ। प्रतियोगिताका विजेताले नगद ५५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले नगद ३१ हजार रुपैयाँ प्राप्त गर्ने खेल संयोजक पवन लिम्बुले जानकारी दिनुभयो।

सम्बन्धित
- Advertisment -


लोकप्रिय