सामरिक रूपमा निकै संवेदनशील मानिएको हर्मुज जलमार्गमा तीनवटा व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि अमेरिकाले इरानमा शक्तिशाली सैन्य हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरू सवार व्यापारिक जहाजहरूलाई निशाना बनाएको बदलामा इरानलाई ‘भारी मूल्य चुकाउन’ कारबाही गरिएको घोषणा गरेको हो।अमेरिकी हमलाबाट इरानको क्युशम टापु, बन्दर अब्बास र सिरिक सहरहरू प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। इरानी सञ्चारमाध्यमका अनुसार ती क्षेत्रहरूमा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन् र छर्रा लागेर केही मानिसहरू घाइते भएका छन्, यद्यपि हालसम्म कसैको मृत्यु भएको खबर भने बाहिरिएको छैन।
इरानका उप–परराष्ट्र मन्त्रीले अमेरिकी हमलालाई गत महिना मात्र दुई देशबीच हस्ताक्षर भएको समझदारी पत्रको ठाडो उल्लङ्घन भएको बताउँदै तेहरानले यसको ‘निर्णायक जवाफ’ दिने चेतावनी दिएका छन्। अर्कातर्फ, अमेरिकी सेन्ट्रल कमान्डले इरानको यो आक्रामक व्यवहार बिनाकारण भएको र यसले स्पष्ट रूपमा युद्धविरामको उल्लङ्घन गरेको दाबी गरेको छ।


