समाचार

सेवा निवृत राष्ट्रसेवक कर्मचारीहरू सम्मानित

सिन्धुली, १५ साउन ÷ नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सिन्धुलीले सेवा निवृत भएका १९ जना राष्ट्र सेवक कर्मचारीहरुाई सम्मान गरेको छ । शुक्रबार बिहान शहीद मनोज–झपेन्द्र स्मृति दिवस २०७८ को अवसरमा सम्मान गरेको हो ।

सेवा निवृत हुनु भएका राष्ट्रसेवक कर्मचारीहरूलाई प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौला, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शान्तिराम पौडेल, निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति सिन्धुलीका अध्यक्ष तिलकबहादुर कार्कीले दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गर्नु भएको थियो ।
सम्मान पछि सम्बोधन गर्दै उहाँले कर्मचारीहरूले नागरिकलाई सेवा प्रवाहका माध्यमबाट सन्तुष्ट बनाउन नसकेको बताउँदै जनतालाई केन्द्र बिन्दुमा राखेर सेवा प्रदान गर्नु पर्नेमा जोड दिनुभयो ।

सम्मान कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे, कर्मचारी सङ्गठनका अध्यक्ष राजकुमार गोले, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सूर्य घिमिरे, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शान्तिराम पौडेल, निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति सिन्धुलीका अध्यक्ष तिलकबहादुर कार्कीले सेवा निवृत हुनु भएका पूर्व राष्ट्र सेवक कर्मचारीहरूलाई बाँकी जीवन सामाजिक सेवामा सक्रिय रहन आग्रह गरेका थिए ।

शहीद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले अक्षयकोषको स्थापना गरेको छ । १ लाख १ हजारको कोष स्थापना गरिएको सङ्गठनका जिल्ला अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिनुभयो । कुनै पनि कर्मचारीको दुर्घटनामा मृत्यु भएमा २५ हजार, दुर्घटनामा घाइते भएमा उपचार खर्च १५ हजार, १० हजार थप उपचार खर्च र गंभिर प्रकृतिको रोग लागेमा १० हजार रुपैंया सहयोग गरिने उहाँको भनाई रहेको छ ।

सङ्गठनमा आबद्ध सदस्यहरूले वार्षिक ५० रुपैंया तिर्नु पर्ने उहाँको भनाई छ । सानो रकमबाट आपत्–विपद् पर्दा संगठनले सहयोग गर्ने समेत उहाँको भनाई रहेको छ । साथै यस कोषले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरि विपदमा परेका विपन्न नागरिकलाई पनि सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका कोषाध्यक्ष डिल्लीप्रसाद घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने सचिव पदम मगरले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

 

Comment here