समाचार

सिसिएसद्धारा दुधौलीमा स्वास्थ्य सामाग्री हस्तान्तरण

सिन्धुली, १९ जेठ २०७८

सामूहिक सरोकार समाज सिन्धुली (सिसिएस) ले बुधवार दुधौली नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
सिसिएस सिन्धुलीका अध्यक्ष नवराज पहाडीले मेयर घनश्याम राउतलाई हस्तान्तरण गर्नु भएको हो ।

सेतु नेपाल खुमलटार काठमाण्डौको आर्थिक सहयोग तथा सामूहिक सरोकार समाज सिन्धुलीको साझेदारीमा कोभिड–१९ प्रतिकार्यको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष पहाडीले जानकारी दिनुभयो । दुधौली नगरपालिकामा रहेका आइसोलेसन अस्पतालमा कोरोना सङ्क्रमितहरूको उपचार तथा रोकथाम नियन्त्रणमा सहयोग पुग्ने संस्थाको अपेक्षा छ पहाडीले भन्नुभयो ।

संस्थाका अध्यक्ष पहाडीले मेयर राउतलाई अक्सिजन मास्क २० थान, थर्मल गन १० थान, पिपिई सेट ३० सेट, फेस सिल्ड १०० थान, केएन ९५ मास्क २०० थान, सर्जिकल मास्क ३० बट्टा, गोल्भस २० बट्टा अक्सिमिटर ५ थान, स्यानिटाइजर १० ग्यालिन, फिनेल ५० बोतल स्प्रे ट्याङ्की २ थान हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

सहयोग सामाग्री ग्रहण गर्दै मेयर राउतले गैर सरकारी संस्थाहरूको सहयोगले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग मिलेको बताउनुभयो । उहाँले नगरपालिकाले भ्याए सम्मको स्रोत साधनको प्रयोग गरे पनि नगरपालिकाको मात्र प्रयासले सम्भव नभएको र दातृ संस्था र सहयोगी व्यक्तिका कारण सङ्क्रमितको उपचारमा सहयोग मिलेको भन्दै सहयोग गर्ने संस्थालाई धन्यवाद दिनुभयो ।

उहाँले दुधौली नगरपालिका प्रति कोभिड–१९ प्रतिकार्यका लागि भोलिका दिनहरूमा पनि संस्थाको आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाले यस अघि फिक्कल गाउँपालिकालाई १५ थान अक्सिजन सहितको सिलिन्डर हस्तान्तरण गरेको थियो । स्थानीय सरकारले माग गरेका आवश्यक स्वास्थ्य सामाग्रीहरू अरू स्थानीय तहमा समेत वितरण गर्ने संस्थाको लक्ष्य रहेको सामूहिक सरोकार समाज सिन्धुलीले जनाएको छ ।

Comment here