प्रदेशसमाचार

सामूहिक सरोकार समाजद्वारा फिक्कलमा सिप मुलक तालिम संचालन

सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेवडाँडामा ४५ दिने सिलाई कटाई तालिम सुरु भएको छ । फिक्कल गाउँपालिकाको सहयोग र सामूहिक सरोकार समाज सिन्धुलीको आयोजनामा उक्त तालिम सुरु भएको हो ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) कार्यक्रम सञ्चालन निर्देशिका २०७७ वंमोजिम फिक्कल गाउँपालिका र यस संस्था सामूहिक सरोकार समाज सिन्धुली सेवा प्रदायक बिच भएको सम्झौता अनुसार यस संस्थाले तालिमको आयोजना गरेको अध्यक्ष नवराज पहाडीले जानकारी दिनुभयो ।

बैशाख १९ गते फिक्कल १ महादेवडाँडामा ४५ दिने सिलाई कटाई तालिम संचालन गरिएको छ । ४ वटा तालिममा १३ जना विपन्न समुदायका महिलाहरूको सहभागिता रहेको छ । सिप सिकी स्थानीय स्तरमा नै स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको उहाँको भनाई रहेको छ ।

यस्तै फिक्कल गाउँपालिका २ मा पनि ४५ दिने सिलाई कटाई तालिम सुरु भएको छ । सिलाई कटाइमा १७ जनाको सहभागिता रहेको छ ।
यस्तै महादेवडाडामा ७ दिने जडीबुटी खेती तथा व्यवस्थापन सम्बन्धी तालिम संचालन गरिएको छ । बैशाख २५ गते सम्म संचालन हुने तालिममा २२ जनाको सहभागिता रहेको छ । पालिकामा रहेका जडीबुटीहरूको सदुपयोग गर्न र जडीबुटीको व्यावसायिक खेती गरि स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा सहभागीहरूले तालिम पश्चात् व्यावसायिक जडीबुटी खेती गर्ने अपेक्षा गरिएको छ ।

फिक्कल गाउँपालिका ५ बाह्रविसेमा ७ दिने बाख्रा पालन तालिम सुरु गरिएको छ । संस्थाले उक्त तालिममा १६ जना सहभागी रहेको र सहभागीलाई बाख्रा पालन सम्बन्धी जानकारी गराइने छ । तालिमका सहभागीलाई आधुनिक खोल, नस्ल सुधार, बाख्रा पालन गर्दा ध्यान दिनु पर्ने कुरा, बाख्राको आहार, सह्यार सुसार, र रोग लाग्दा ध्यान दिनु पर्ने कुराहरूका बारेमा जानकारी दिइने छ ।
यस्तै फिक्कल गाउँपालिका २ पोखरीमा कुखुरा पालन सम्बन्धी तालिम पनि सुरु गरिएको छ । तालिममा ११ जनाको सहभागिता रहेको छ । सहभागीहरूलाई कुखुरा पालमा ध्यान दिनु पर्ने कुराहरू, रोग, कुखुराको व्यवस्थापन, खोर निर्माण लगायतका बारेमा जानकारी गराइने छ ।
यसैबिच फिक्कल गाउँपालिका ६ रत्नावतीको तिन खण्डेमा साबुन बनाउने तालिम, ४ मा खाङ्गसाङ्गमा बाँसको सामाग्री निर्माण तालिम, सिलाई कटाई तालिम सञ्चालन गरिने योजना रहेको सामूहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।
साथै फिक्कल गाउँपालिका २ पोखरीमा ग्रिल सम्बन्धी र बाँसको सामाग्री निर्माण तालिम सञ्चालन गर्ने लक्ष्य रहेको छ भने, फिक्कल गाउँपालिका १ महादेवडाडाँमा अल्लो प्रशोधन तालिम सञ्चालन गर्न बाँकी रहेको र अबको केही दिनमा तालिम दिइने उहाँको भनाई रहेको छ ।
उक्त तालिम बाट १७६ जना स्थानीय उद्यमीहरूको सिप विकास भई उद्यमशीलतामा विकास हुनेछ । तालिमका सहभागीहरूलाई गाउँपालिकाको सहयोगमा सहभागीहरूको आवश्यकता अनुसार उपकरण उपलब्ध गराइनेछ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत फिक्कल गाउँपालिकाका ६ वटै वडामा व्यवसाय विकास तथा उद्यम विकासको लागि विभिन्न सिपमुक तालिम तथा पुनर् ताजकी तालिम सञ्चालन भै रहेको सामूहिक सरोकार समाज सिन्धुलीले जनाएको छ ।

संस्थाले विगत ३ वर्ष देखि सिन्धुली र अ‍ेखाढुङ्गामा उद्यमशिलताको क्षेत्रमा निरन्त्तर कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाई रहेको छ ।

 

Comment here