प्रदेशबागमतिशिक्षासमाचार

एक हप्ता भित्र माग पुरा गर्न विद्यार्थी संगठनहरुको आग्रह

सिन्धुली, २ बैशाख  २०७८

सिन्धुलीको बहुमुखी क्याम्पस प्रशासनलाई विद्यार्थी संगठनहरुले आफ्ना जायज मागहरु तत्काल पुरा गर्न आग्रह गरेका छन् ।
बिहीबार विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

अनेरास्ववियु सिन्धुली बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सन्तोष घिमिरे, नेपाल विद्यार्थी सङ्घ सिन्धुली बहुमुखी क्याम्पस समितिका नेता कृष्ण लामिछाने र अनेरास्ववियू (क्रान्तिकारी) बहुमुखि क्याम्स इकाई कमिटि अध्यक्ष हेमकुमार अच्छामीले संयुक्त १० बुदे मागहरु पुरा गर्न क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

शैक्षिक गुणस्तर बृद्धि गर्न तीन विद्यार्थी संगठनले चैत २७ गते क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएकोमा १० बुदे समस्या समाधान गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

पुस्तकालय राम्रो व्यवस्था साथै पाठ्यपुस्तक तत्काल उपलब्ध गराउनु पर्ने, २०७७ को छात्रबृत्तीको नतिजा तत्काल प्रकाशनका साथै नयाँ छात्रबृत्ती प्रक्रिया अगाडी बढाउनु पर्ने, कलेज पोषाकलाई अनिवार्य गर्नुका साथै डिजिटल आइडि कार्डको व्यवस्था गर्नु पर्ने विद्यार्थी संगठनहरुले माग राखेका छन् ।

विद्यार्थी संगठनहरुले कोभिडको महामारीको कारणले गर्दा वार्षिक रूपमा बृद्धि हुने शुल्क तत्काल रोक्नु पर्ने, स्नातकोत्तरको शुल्क घटाउनु पर्ने, क्याम्पसमा टिफिन टाइमको व्यवस्था गर्नु पर्ने, महिला शौचालयमा सेनिटरी प्याडको व्यवस्था गर्नु पर्ने, प्राध्यापकहरूलाई बृद्धि विकासको लागि प्रदान गरिएको ल्यापटपका विषयमा जानकारी हुनु पर्ने माग राखेका छन् ।

साथै क्याम्पस बसको व्यवस्था गर्नु पर्ने, क्याम्पस प्राध्यापक भर्ना र पदोन्नति गर्दा विधिवत् प्रक्रिया अप्नाउन समेत माग गरेका छन् ।
विज्ञप्ति मार्फत उनीहरुले तत्काल सञ्चालक समितिको बैठक राखी आफ्ना मागहरु एक हप्ता भित्र सम्बोधन गर्न अनुरोध गरेका छन् । आफ्ना जायज मागहरु प्रति बेवास्ता गरिए विद्यार्थी सङ्गठनहरू आन्दोलन गर्ने समेत चेतावनी दिएको छ ।

 

Comment here