गण्डकीप्रदेशबिचार

लैङ्गिक असमानता विरुद्ध मेरो आवाज

देवी स्वरुप पुजिन्छु रे नि म।आखिर सृष्टि रच्ने भगवान हो नि त म । तर किन म लगायत अनेक नामले पुजिने देवीहरुलाई अँध्यारो झ्यालखाना भित्र राख्न खोजिदै छ ? कतै मेरो अस्तित्व ढुङ्गाको मुर्तिमा मात्र त सिमित राख्न खोजिएको होइन ? कि ती विवेकशिल कहलिएका मानिसहरुले हरेक घर घरमा रहेको मेरो स्वरुपलाई चिन्न सकेका छैनन् ? कहिले सम्म म आफ्नो पहिचान र हकको निम्ति याहाँ त्याहाँ भौतारिरहूँ ?
हरेक दिन विहान वेलुका मैले घरको सबै काम सकाएर खाना पकाउँछु तर भोकले पिरलिरहेको समयमा किन त्यहीँ खाना खानको निम्ति मैले आफ्नो भोक लुकाइ सबैलाई खुवाएर अन्तिममा खानुपर्छ ? कहिले कुनै सरसामान किन्न बजार जाँदा पनि पसले दाईसँग एकैछिन कुरा गरेँ या सामान किन्दा समयभन्दा केही ढिलो घर पुगेँ भने एकातिर समाजको व्यक्तिहरुको नजरमा नराम्रो बन्नुपर्ने । “फलानोकी बुहारी,फलानोकी श्रीमती आदि इत्यादिको त व्यवहार त राम्रो देखिदैन, पसल जाँदा पनि कत्ती धेरै समय लगाउँछे,“,जस्ता शब्द सुन्नुपर्ने, अर्कोतिर घरमा ढिलो भएको कारण घरपरिवारको रिस सहनुपर्ने र कसरी उहाँहरुको चित्त बुझाउने होला भनेर सोच्नुपर्ने कुराले मलाई हरेक दिन मेरो मानसपटलमा कतै, “छोरी भएर जन्मनु श्राप त होइन“ भनेर प्रश्न उठ्ने गर्छ । कहिले छरछिमेक, इष्टमित्रका पुजा या कुनै कार्यक्रम, भेटघाट आदि हुँदा सामेल हुन जान पनि मैले घरको हरेक सदस्यसँग अनुमती लिनुपर्छ अनि कार्यक्रममा एकैछिन मात्र के रमाइलो गर्न थालेको हुन्छु घरी “कार्यक्रम कतिखेर सकिन्छ ?“भन्दै श्रीमानको फोन आउँछ त घरी छोरा छोरी या बाँकी अन्य परिवारको फोन आउँछ । मैले दिनरात घरको सबैलाई खुशी बनाउँछु भनेर लगनका साथ काम गर्छु,घर गृहस्थ सम्हाल्छु तर पनि केही न केही कुराले मेरो मेहेनत आझै नपुगेगो संकेत गरिहाल्छ । मैले हरेक महिना रजस्वलाको पीडा सहेर, ९ महिना पेटमा बच्चा राखी ,प्रसवकालको सीमातित कष्ट सहेर बच्चा जन्माउँछु अनि जिवनको महत्त्वपूर्ण र खुशीको पल रमाइलो साथ मनाउने आशा राख्छु तर छोरी होइन छोरा चाहियो भन्दै परिवारका सदस्यले धम्काउँदा र मलाई विशेष हेरचाह र मायाको आवश्यकता पर्ने बेलामा ती रुखा शब्द सुन्दा समाज र याहाको चालचलन र नियमप्रती घृणा जागेर आउँछ अनि यसको विरुद्धमा पाइला चाल्ने सोच्छु तर मेरो पाइला त्याही रोकिन्छ। कति मेरा सहपाठी साथीहरुलाई त उनीहरुको परिवारले छोराको चाहनामा गर्वपतन सम्म गर्न बाध्य बनाएको अनि कति साथीहरुको श्रीमानले बहुविवाह समेत गरेको कुरा सम्झदा मनमा साह्रै दुख र पीडा हुन्छ तर मेरो पीडा मेरो मनमा मात्र सिमित रहन्छ ।
म आफ्नो आत्मसम्मानलाई आगाडी बनाएर खुला आकाशमा उड्न चाहन्छु।म पनि घरपरिवार र समाजमा आफ्नो कुरा र महत्वपूर्ण तर्कहरु प्रस्तुत गर्न र विकासको काममा सक्रिय रुपमा सहभागिता जनाउन चाहन्छु। घरभित्रको अन्धकारमय जिवनलाई छोडेर शिक्षा लिएर स्वरोजगार सृजनागरि स्वाभिमान र गौरवका साथ आत्मनिर्भर बन्न चाह्न्छु र सम्पुर्ण जगतमा शिक्षाको ज्योती फैलाइ शान्ति, अहिंसा र समानता तर्फ मार्ग दर्शन गराउन चहान्छु ।
म जतिसुकै संस्कारी,सज्जन भएता पनि आजसम्म आइपुग्दा पनि किन हिंसा सहनुपर्छ ? अनि आफ्नो घरभित्र हुने र अन्य स्थानमा भएको हिंसा,अत्याचार, दुर्व्यवहार आदिको मैले आवाज उठाए भने किन मेरै आवाज बन्द गर्न खोजिन्छ र समाजका व्यक्तिहरुले पनि मेरो साथ दिनुपर्ने अवस्थामा मेरै गल्ती देखाउने गर्छन् ? “कस्ती महिला रहिछे ? आफ्नो घरभित्रको कुरालाई पनि समाजसामु ल्याइकी छे,महिला भएर त्यति पनि सहनसक्दिन।“यस्ता प्रश्नको झटारो सधै मलाई मात्र फ्याकिन्छ ?
मानौ
घरमा झैझगडा भयो, महिलाकै गल्ती ?
छोराछोरी राम्रोसँग पढेनन्, आमाकै गल्ती ?
घरमा केही सरसामान बिग्रीयो,घरको महिलाको गल्ती ?
महिलामाथी कुनै हत्या,हिंसा या बलात्कार भयो, त्यसमा पनि महिलाकै गल्ती ?
आखिर कहिले सम्म ?
कसले दिन्छ मलाई न्याय ? कहाँ छ मेरो स्वतन्त्रता ? कहाँ छ मेरो मौलिक हक र अधिकार ? कहाँ गयो “यत्र नारी पुज्यन्त रमन्ते तत्र देवताको“ नारा?कहिले मैले खुलेर आफ्नो चाहना र सपना पूरा गर्ने मौका पाहुँछु ? मभित्रको प्रतिभा र क्षमतालाई कहिले मैले पूरा संसार सामु देखाउने मौका पाहुँछु ?
किन हामी वास्तविक कुरा र घटना नबुझी सधैं महिलामाथी मात्रै औंला ठडाउने गर्छौं ?
दैनिकी जिवनमा हामी महिलालाई समान व्यवहार गर्न सक्दैनौं भने लैङ्गिक हिंसा विरुद्धको कार्यक्रममा भाषण दिएको औचित्य के रह्यो ? र महिला सशक्तीकरण कार्यक्रमको उदेश्य कसरी पूरा गर्न सकिन्छ ?
त्यसैले सोच बदलौँ, सुरुवात आफैंबाट गरौँ । महिला हक, अधिकार र सशक्तीकरणका विषयमा किताबका पानामा लेखिएका र भाषणमा बोलिने कुरालाई व्यवहारमा उतारौँ र समानतामुलक घरसमाजको निर्माण गरौँ । धन्यवाद!!
– गैंडाकोट, १,नवलपुर
गण्डकी प्रदेश

Comment here