राजनीतिविदेशसमाचार

राष्ट्रपति ट्रम्पबिरुद्ध महाअभियोग प्रस्ताव पेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत भएको छ । डेमोक्रेटिक पार्टीले गएको हप्ताको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाउँदै हाउस अफ रिप्रिजेन्टेटिभ्समा प्रस्ताव पेस गरेको हो ।

डेमोक्रेटहरूले अमेरिकी संसद्मा राखेको प्रस्तावमा डोनाल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ ।

पेस भएको प्रस्तावमाथि तल्लो सदनमा आजै मतदान हुन सक्ने बीबीसीले जनाएको छ । योसँगै डोनाल्ड ट्रम्पमाथि दोश्रो पटक महाअभियोग लगाउने औपचारिक सुरुवात भएको छ ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा बताउनुभएको बीबीसीले जनाएको छ । अबको आठ दिनपछि चार वर्षे कार्यकाल पूरा गर्दै गरेका ट्रम्पलाई पदावधि सकिनु अघि नै राष्ट्रपति भवनबाट निकाल्न डेमोक्रेटिक पार्टीको योजना छ ।

तल्लो सदनबाट ट्रम्पमाथि महाभियोग लगाइएमा उहाँलाई दोषी ठहर्याउने या नठहर्याउने भन्ने विषयमा माथिल्लो सदन सिनेटमा सुनुवाइ हुनेछ । त्यहाँबाट पारित हुन दुई तिहाई मत आवश्यक हुन्छ ।

Comment here