प्रदेशसमाचार

सिन्धुलीमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न अटेर गर्नेलाई कारबाहि गरिने

सिन्धुली, २१ असोज २०७७
सिन्धुली जिल्लामा नेपाल सरकारले जारि गरेको निर्देशिका तथा मापदण्डको पालना गर्न अटेर गर्नेलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कारबाही गर्ने भएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारका तर्फबाट जारी भएका मापदण्डहरुको पालना नगर्नेलाई प्रशासनले कारबाही गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सर्वपक्षिय, सर्वदलिय बैठकले निर्देशिका र मापदण्ड पालना नगर्नेलाई संक्रममक रोग ऐन २०२० अनुसार कारबाहि गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बुधबार १० बुदे निर्णयहरु सार्वजनीक सहितको सूचना जारी गर्दै सामाजिक दुरी, मास्को अनिवार्य प्रयोग र स्यानिटाइजरको प्रयोग गर्न अपिल गर्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार कार्यालय, संघ, संस्था, व्यवसायि, तथा सेवा प्रदायक निकायले सेवा प्रवाह गर्दा सामाजिक दुरी, मास्को अनिवार्य प्रयोग र स्यानिटाइजरको प्रयोग अनिवार्य रुपमा गर्नु पर्ने, विद्यालयले विद्यार्थीलाई विद्यालयमा नै बोलाएर पठन–पाठन बन्द गरि बैकल्पिक उपायबाट सिकाई सहजीकरण गर्नुपर्ने, होम आइसोलेसन तथा क्वारेन्टाईनमा बस्न नसक्ने व्यक्तिहरुलाई संस्थागत आइसोलेसनमा राख्ने, हरेक वडामा वडा अध्यक्षको संयोजकत्वमा कोभिड–१९ व्यवस्थापन तथा सहजीकरण समिति गठन गरिने निर्णय भएको छ ।

यस्तै ठुलो भेला आयोजना गरि राजनैतिक कार्यक्रमलाई स्थगित गर्ने, स्वाव संकलन गर्दा नेपाल सरकारले तयार पारेको मापदण्ड अनिवार्य पालना गर्ने, आइसोलेसन अपुग हुने भएकाले आइसोलेसन कक्ष थप गर्ने, सिन्धुली अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य प्रारम्भ गर्ने, सार्वजनिक सभा, जुलुस, खेलकुद तथा सांस्कृतिक कार्यक्रम लगाएतका स्वास्थ्य सुरक्षा मापदण्ड विपरित हुने कुनै पनि गतिविधि सञ्चालनमा रोक लगाउने निर्णय भएको छ ।

 

Comment here