प्रदेशशिक्षासमाचार

पढ्न सघाउने रेडियो शिक्षा कार्यक्रम उपलब्धि मूलक

एनबी अधिकारी

सिन्धुली, १३ असोज / कोरोनाको कहर नसकिएको अवस्थामा सुगम देखी दुर्गम स्थल सम्म रेडियो शिक्षा कार्यक्रम प्रभावकारी भएको पाईएको छ । सूचना आदान–प्रदानको सरल, सहज मानिने रेडियो यस महामारिमा पाठशाला बनेको छ ।

रेडियो सुन्ने मात्र हैन सिकाई केन्द्र बनेको छ । रेडियोको स्टुडियोबाट शिक्षकले पढाउने र रेडियो सुनेर विद्यार्थीले पढ्ने गर्दा सिकाई सहजीकरण सहजता भएको छ ।

सुनकोसी गाउँपालिकाको टारी गाउँकी कक्षा १० मा अध्ययन गर्ने रमिला नेपालीलाई विद्यालय बन्द हुँदा उहाँलाई पढाइको चिन्ता थपियो । उहाँले भन्नुभयो ‘रेडियोबाट पनि पढाउन र पढ्न पाइदो रहेछ थाहा पाए । कक्षा ६ देखी १० सम्म सरहरुले रेडियोबाट पढाउने सुन्दा र उक्त रेडियो शिक्षा कार्यक्रम सुन्दा आफुलाई पढाई सहजीकरणमा सहजता भएको छ ।’ शिक्षकले अंग्रेजी, नेपाली, गणीत, सामाजिक र विज्ञान विषय रेडियो शिक्षा कार्यक्रम मार्फत पढाउदै आएकाले आफुलाई विद्यालय बन्द भएको समयमा पनि घरमा नै बसेर पढ्न सहज भएको उहाँको भनाई छ ।

यस्तै कमलामाई नगरपालिका ४ निवासि बरुणदेवी माध्यमिक विद्यालय दर्लामी खट्टारमा कक्षा १० मा अध्ययन गर्ने राधा श्रेष्ठ पनि रेडियोबाटै पढ्ने गर्नुहुन्छ । कोरोनाको महामारीका बेला विद्यालय बन्द भएपछि अन्योलता रहेकोमा रेडियोबाट मुख्य पाँचवटा विषय पढाई हुँदा घरबाट नै पढन् सहजता भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘रेडियोबाट सूचना, कार्यत्रम र समाचार सुन्दै आएको थिए तर रेडियोबाट सरहरुले पहिलो पटक पढाएको सुन्दा अनौठो लाग्यो । तर मलाई घरमा नै बसेर रेडियोका सहयोगले पढ्न सहज भएको छ उहाँले भन्नुभयो ।

उहाँ मात्र हैन कक्षा ९ मा अध्ययन गर्ने रोहित मगरलाई पनि रेडियोले पढ्न सहजता बनाएको छ । रेडियो शिक्षा कार्यक्रमबाट आफुलाई विद्यालयमा पढाउने शिक्षक भन्दा अन्य शिक्षकहरुले पढाउने कला बारे पनि रेडियो शिक्षा कार्यक्रमले जान्न पाएको उहाँले भन्नुभयो । रेडियो शिक्षा कार्यक्रमले आफुलाई विद्यालय बन्द भएपनि घरमा नै बसेर पढ्न सहयोग पु¥याएको उहाँको भनाई छ ।
सुनकोशी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख ओम प्रसाद गौतमले कोरोनाको कहरमा रेडियो शिक्षा कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । रेडियो शिक्षा कार्यक्रम प्रशारण गर्न गाउँपालिकाले समन्वय गरेको र कार्यक्रमको उपलब्धिका बारेमा समेत समिक्षा तथा छलफलहरु हुने गरेको बताउनुभयो ।

भौगोलिक विकटताका कारण सवै स्थानमा एउटै रेडियो सुनाउन समस्या भएको तर रेडियो सुन्न सकिने स्थानमा विद्यार्थीहरुले लाभ लिएको उहाँको भनाई छ । शिक्षकहरुले रेडियो सुनेर गृहकार्यसंग जोडेका विद्यालयका विद्यार्थीहरुले धेरै लाभ लिएको उहाँको भनाई रहेको छ ।
यता सिकाई परियोजना अन्र्तगत मानव तथा राष्ट्रिय विकास समाज नेपाल सिन्धुलीको समन्वय तथा प्लान नेपालको साझेदारीमा कमलामाई नगरपालिका, मरिण गाउँपालिका र सुनकोसी गाउँपालिकामा स्वअध्ययन पाठ्यपुस्तक वितरण गरिएको छ । कक्षा दुई देखी ५ कक्षा सम्मका विद्यार्थीहरुलाई विद्यालय मार्फत उक्त स्व अध्ययन शैक्षिक सामाग्रि वितरण गरिएको हो ।

घरमा नै अभिभावकसंग बसेर पढ्न सकिने पाठ्यपुस्तकबाट विद्यार्थीले घरमा नै बसेर ज्ञान हासिल गरि रहेको जयमंगल माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम भोलनले बताउनुभयो । उहाँले भन्नुभयो ‘उक्त पाठ्यपुस्तक मरिण गाउँपालिकाले वितरण गरेकोमा अपुग भएपछि प्लान नेपालले अपुग पाठ्पुस्तक छपाई गरि सिकाईमा सहजीकरण गर्न सहयोग पु¥र्याइदिएको छ ।’ अभिभावकको निगरानीमा उक्त पाठ्यपुस्तक अध्ययन गर्न पनि सकिन्छ तर आफुहरुले सिकाई केन्द्रमा बालबालीकाहरुलाई भौतीक दुरी कायम गरि अध्ययापन गर्दै आएको उहाँले जानकारी दिनुभयो । उक्त पाठ्पुस्तक हेरेर विद्यार्थीले सहजै अध्ययन गर्न सक्ने र अभिभावकले पनि आफ्ना सन्तानलाई अध्ययापन गराउन सक्ने खालको शैक्षिक सामाग्री रहेको उहाँको भनाई रहेको छ ।

यता मरिण गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालले रेडियो शिक्षा कार्यक्रम र आफै अध्ययन गर्न सकिने पाठ्यपुस्तकले बालबालिकालाई विद्यालय बन्द भएको समयमा पनि घरमा नै बसेर सिक्न सहजता भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘बालबालिकाले कोरोनाका कारण विद्यालय नै नगई यस्ता विधिबाट अभिभावकसंगै बसेर आफ्नो पठन–पाठनलाई निरन्तरता दिएको पाईएको छ ।’ मरिण गाउँपालिकाले सिकाई केन्द्र मार्फत बैकल्पिक विधिबाट र भौतीकरी कायम तथा सुरक्षाका मापदण्ड पुरा गरि सिकाई सहजीकरण गर्दै आएको उहाँको भनाई छ ।

रेडियो शिक्षा कार्यक्रमले बालबालिकालाई घरमा नै बसेर पढनलाई सहजता भएको बरुणदेवि माध्यमिक विद्यालय दर्लामी खट्टारका प्रधानाध्यापक संतोष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘विहान ११ बजे देखी दिउँसो १ बजे सम्म उक्त रेडियो शिक्षा कार्यक्रम विभिन्न रेडियोबाट प्रशारण हुने भएकाले आफुहरुले उक्त रेडियो शिक्षा कार्यक्रमलाई गृहकार्यसंग जेडेका छौ ।’ घरमा नबसेर विद्यालय आएका विद्यार्थीहरुलाई सम्बन्धित शिक्षकहरुले अध्ययापन गर्ने र रेडियो सुन्न चाहाने विद्यार्थीहरुका लागि रेडियो सुन्ने बावाबरण विद्यालयले गरेको बताउनुभयो । रेडियो शिक्षा कार्यक्रमले बालबालीकालाई कोरोनाका कारण पर्ने मानसिक समस्याको अन्त्य गरेको र विद्यालय बन्द भएका वेलामा पनि घरमा नै बसेर बैकल्पिक माध्यमबाट आफ्नो पढाईलाई निरन्तरता दिदै आएको उहाँको भनाई छ ।

यस्तै प्रगतिशिल माध्यमिक विद्यालय धामीडुमरीयाका प्रधानाध्यापक मेघबहादुर भुजेलले पनि रेडियो शिक्षा कार्यक्रम बारे अभिभावकले थाहा पाएका घरका बालबालिकाले अनिवार्य रुपमा रेडियो सुनेर पढ्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘विद्यालय बन्द भएपछि पठन–पाठन अन्योल भएकोमा रेडियो शिक्षा कार्यक्रमले त्यस्ता बालबालिकाहरुलाई सिक्ने र अभिभावकले आफ्ना छोरा–छोरीलाई सिकाउने माध्यम बनेको उहाँको भनाई छ । रेडियो सुन्न रेडियो नै चाहिदैन सवैको हात–हातमा मोवाईल छ । यहि मोवाइलका सहायताले रेडियो सुन्ने गरेको उहाँ बताउनु हुन्छ । उहाँले भन्नुभयो ‘रेडियो शिक्षा कार्यक्रम बैकल्पिक शिक्षा हो । विद्यालय बन्द रहेको अवस्थामा पनि बालबालिकाले घरमा नै बसेर उनीहरुको पठन–पाठनमा सहजीकरण गर्नका लागि उत्पादन गरिएको हो, यो वैकल्पिक शिक्षा ज्ञान र आफ्नो पढाई प्रति चिन्ता भएका विद्यार्थीले पुर्ण रुपमा प्रयोग गरेको पाएको छु ।’

कोरोनाको महामारिमा रेडियो शिक्षा कार्यक्रम सञ्चालन गर्न मानव तथा राष्ट्रिय विकास समाज नेपाल सिन्धुली र प्लान इन्टरनेश्नल नेपालको समन्वय तथा सम्बन्धित पालिकाको सहयोगमा जिल्लाका विभिन्न पाँच वटा रेडियो स्टेशनबाट रेडियो शिक्षा कार्यक्रम प्रशारण भई रहेको छ ।

सिन्धुलीका पाँच वटा रेडियो स्टेसनबाट एकै समयमा पढाई हुने रेडियो शिक्षा कार्यक्रम बालबालिकाको सिकाई सहजीकरणमा महत्वपुर्ण भएको भन्दै यस प्रशारण समय समेत थपिदै आएको छ । साउन १५ गतेबाट २१ गते सम्म पहिलो चरणमा प्रशारण गरिएको कार्यक्रम प्रभावकारी भएको भन्दै असोज १ गते देखी मसोज महिना भर अहिले दोस्रो चरणमा रेडियो शिक्षा कार्यक्रम प्रशारण भइ रहेको छ ।
यस्तै कोरोको महामारीका वेला मानव तथा राष्ट्रिय विकास समाज नेपाल सिन्धुली र प्लान इन्टरनेश्नल नेपालको समन्वयमा मरिण गाउँपालिकामा कक्षा २ देखी ५ सम्मका बालबालिकाले घरमा नै अध्ययन गर्न सक्ने ३०० प्रति शैक्षिक सामाग्रही उपलब्ध गराएको परियोजना संयोजक प्रमोद तिमल्सिनाले जानकारी दिनुभयो ।

बालविकास कक्षाको लागि २०० प्रति वितरण गरिएको छ । यस्तै सुनकोशी गाउँपालिकामा बालविकास कक्षाको लागि ३०० प्रति, कक्षा १ देखी ५ सम्मका विद्यार्थीका लागि ५०० प्रति पाठ्य पुस्तक वितरण गरिएको उहाँको भनाई छ । गाउँपालिकाले वितरण गरेको तर अपुग रहेको संख्याका आधारमा पाठ्यपुस्तक छपाई गरि वितरण गरिएको उहाँको भनाई रहेको छ । रेडियो बैकल्पिक माध्यमबाट विद्यार्थीलाई पढाउने एक प्रभावकारी भएको रेडियो कार्यक्रम सुन्नेहरुको प्रतिक्रिया रहेको छ ।

Comment here