प्रदेशसमाचार

सिन्धुलीका प्रसुन उत्कृष्ट निर्देशक

सिन्धुली, २६ भदौ /  नेपाली सेनाले २०६७ सालदेखि गर्दैआएको ‘‘लघु चलचित्र प्रतियोगिताको’’ २०७६ सालको संस्करणको नतिजा प्रकाशित भएको छ । जसमा सिन्धुलीका प्रसुन सिन्धुलीयद्वारा निर्देशित चलचित्र “देशलाई छुने पाइला’’ सर्वोत्कृष्ट भएको छ ।
उकत लघु चलचित्र प्रतियोगितामा ३८ वटा चलचित्र सहभागी भएका थिए । उत्कृष्ट दस स्क्रिप्टलाई जनही ३५ हजार पुरस्कारको व्यवस्था गरिएको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट भएसँगै प्रसुन सिन्धुलीयको टिमले उत्कृष्ट स्क्रिप्टको नगदसहित नगद दुई लाख पैँतिस हजार र प्रमाणपत्र पाएको छ भने दोस्रो हुने पुरुषोत्तम बस्नेतको ’रगत’ र तृतीय हुने वसन्त शर्मा अधिकारीको ’लक्ष्य’ ले क्रमश १ लाख ५० हजार र १ लाख नगद पुरस्कार पाएका थिए । जङ्गी अड्डाले एक विज्ञप्ति जारी गर्दै नतिजाको विवरण सार्वजनिक गरेको छ ।

पुरस्कार पाएपछि हौसिएका चलचित्र निर्देशक प्रसुन सिन्धुलीयले “बन्दाबन्दीले थिलथिलो बनाइदिएको मस्तिष्कलाई पुरस्कारले मलजल गरिदिएको“ अभिव्यक्ति दिए । “यो मेरो मात्र जित हैन, हामङरो समूहकै जित हो, सबै सिनियर र साथीहरूको सहयोगले यो सम्भव भएको हो“ उनले थपे ।

सर्वोत्कृष्ट पुरस्कृत भएको फिल्म “देशलाई छुने पाइला“ मा रङ्गकर्मीहरूको वर्चश्व थियो । सिनियर रङ्गकर्मी टंक चौलागाईँ, इङ्गी होपो कोइँच सुनुवार,सबिर चुरौटे, सुचित्रा उप्रेती, हीरा महर्जन र लिजा मोतेको अभिनय रहेको थियो । कथा, पटकथा, निर्देशन प्रसुन सिन्धुलीयकै रहेको थियो भने प्रकेश सिन्धुलीयले सम्पादनमा साथ दिएका थिए ।

बन्दाबन्दीले तोकिएको मितिभन्दा करिब छ महिना पछाडि धकेलिदिएको समापन र पुरस्कार वितरण समारोह शुक्रबार जंगी अड्डा, सुन्धाराको भव्य हलमा उत्कृष्ट दस चलचित्रको प्रोजेक्शन सहित गरिएको थियो । समारोहमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापासहित निर्णायकहरु र सहधागी अन्य उत्कृष्ट दस चलचित्रका प्रतिनिधिको उपस्थिति थियो ।

Comment here