प्रदेशबिचारराजनीति

कोरोना विरुद्ध लड्दै जनताका विकासका कामहरु गरि रहेका छौ : पार्वती सुनुवार

पार्वती सुनुवार सिन्धुलीको महिला हिंसा विरोधी आन्दोलनमा कुनै अपरिचत नाम होइन । अखिल नेपाल महिला संघ सिन्धुलीकी शसक्त महिला नेतृकी रुपमा चिनिनुभएकी उहाँ दुर्गम अनि विकासबाट पछाडि परेको भनेर चिनिएको फिक्कल गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ । वर्गिय मुक्ति बिना महिला मुक्ति संभव नहुने निश्कर्ष निकाल्नु भएकी उहाँले अहिले पनि आफ्नै पार्टी नेतृत्वबाट महिलाहरु पछाडि पारिएको वा हेपिएको अनुभव गरिरहनु भएको छ । सिन्धुली जिल्ला पार्टीमा महिलालाई पछाडि पारिएको सन्दर्भमा पटक पटक नेतृत्वसँग कुरा उठाएपनि त्यसलाई सुनुवाई नगरिएको प्रति उहाँलाई दुःख लागेको छ । एकातिर महिला हिंसाको रुप फेरिएका छन् भने अर्कातिर महिलालाई थप पिडा दिनेगरी सञ्चार माध्यममा समाचारहरु आएको देख्दा पिडा हुन्छ र त्यस्ता सञ्चार माध्यमका विरुद्ध उजुरीनैं हालौं जस्तो पनि लाग्छ नेतृ सुनुवारलाई । अनि निर्वाचनका बेला जनताको घर आँगनमा गरेका प्रतिवद्धताहरु पुरा भइरहँदा अत्यन्त खुशी लाग्ने गरेको उहाँको अनुभव पनि छ । अध्ययनशिल एवम् वर्गीय राजनीति राम्ररी बुझेकी सुनुवारसँग सहकर्मीले लामो अन्तरसम्वाद गरेका थिए । सोही अन्तरसम्वादको सम्पादित अंशः सम्पादक

महिलाका मुद्धा बोकेर सडकमा हिंड्ने मान्छे, अहिले नीति निर्माण गरेर सबै प्रकारको हिंसा अन्त्य गर्ने जिम्मेवारी आफैंले सम्हाल्दा कस्तो अनुभव गरिरहनु भएको छ ?

महिला माथिका हिंसाका मुद्धाहरु बोकेर पिडकमाथि कारबाहीको लागि दबाब सिर्जना गर्दा र आफैलें महिला माथिका न्याय र अन्याय छुट्याउनु पर्दा निश्चय पनि कठिन हुँदो रहेछ । महिला हिंसाका आवाज उठाएर हिंड्दा जति सजिलो हुन्थ्यो, त्यो भन्दा पृथक नैं हुनेरहेछ । हाम्रा काम गराईका तौर तरिकाहरु पनि भिन्न भिन्न हुने भएकाले पनि एउटा अभियन्ता र जनप्रतिनिधी अर्थात स्थानीय सरकारको रुपमा उभिनु पर्दा फरक महशुस हुन्छ नैं । तैपनि हाम्रो दृष्टिकोण महिलावादी हुने र महिलाका साना साना समस्याले पनि चसक्क घोच्ने गर्दछन् ।
युवा संगठनको नेतृत्व गरेकै कारण जिल्लाभरका नेता कार्यकर्ताले बहुमतले जिल्ला कमिटी सदस्यमा जिताउनु भएको थियो । अहिले जनप्रतिनिधी अर्थात स्थानीय सरकारका रुपमा जनताका विकासका कामहरु गर्न पाउँदा खुशी लागेको छ । पार्टीको जिम्मेवार नेता कार्यकर्ता हुनु र स्थानीय सरकारको नेतृत्व गर्नुमा धेरै भिन्नता हुँदोरहेछ । पिडित महिलाका पक्षमा कानून बनाउने, उनीहरुका पिडामा मल्हम लगाउन पाउनु र पिडकलाई कारबाहीको दायरामा ल्याउन पाउँदा अत्यन्त खुशी पनि लाग्ने रहेछ ।

मुलकु कोरोना संक्रमणको चक्रव्यूहमा फसेको छ । बन्दाबन्दीकै बीचमा तपाईहरुले गाउँपरिषद पनि सम्पन्न गर्नुभयो । यस्तो संकटपूर्ण अबस्थामा जनताका कामहरु कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

सिंगो विश्वनैं अहिले कोरोना महामारीसँग जुधिरहेको छ । त्यसको रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओली र सिंगो सरकार र त्यसका मेकानिज्महरुले काम गरिरहेका छन् । हामी स्थानीय सरकार भएका नाताले हाम्रो क्षमता र सामाथ्र्यले भ्याएसम्मका कामहरु अगाडि बढिरहेका छन् । कोरोना संक्राणको त्रास एकातिर छ भने अर्कातिर जनताका विकासका कामहरुलाई निर्वाधरुपमा अगाडि बढाउने जिम्मेवारी हाम्रो काँधमा छ । त्यसैले हामीले जिल्ला पार्टी, स्थानीय पार्टी कमिटीमा छलफल  गरेर आफ्ना कामहरुलाई कोरोना रोकथाम र नियन्त्रण सँगसँगै अगाडि बढाउने योजना बनाइसकेका छौं । स्वास्थ्यका न्यूनतम् मापदण्डहरु पालनागर्दै विकासका कामलाई अगाडि बढाउन जरुरी हन्छ । त्यसका निम्ती हामी हाम्रा सबै संयन्त्रहरु परिचालन गर्ने र व्यक्तिगत दुरी कायम राख्दै जनताका दैनिक कामहरु हामीले निरन्तर गरिरहेका छौं । कोरोनालाई कारण देखाउँदै हामी चुपलागेर बस्यौं भने त समस्या नैं आइहाल्छ नि ? त्यसैले कोरोना विरुद्ध लड्दै हाम्रा कामहरु अगाडि बढाउनु पर्छ ।

प्रधानमन्त्री ओली कोरोना केही होइन सामान्य रुघाखोकी हो भन्नु हुन्छ, तपाईको बुझाई पनि त्यो भन्दा फरक देखिएन नि ?

हाम्रा प्रधामन्त्रीले बेसार खान भन्दा त्यसलाई केही सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरे । हामी ग्रामिण क्षेत्रका मानिसहरु बेसारलाई अचुक औषधी ठान्छौं । म पनि नेकपाकै सदस्य हुँ र प्रधानमन्त्री हाम्रो पार्टीको अध्यक्ष भएका हिसावले उहाँले जे भन्नु भएको छ, ती सबै कुरा सही थिए । अब जहाँसम्म हाम्रो आफ्नो सवाल छ, कोरोना संक्रमण तत्कालै अन्त्य हुने होइन । अन्त्य हुन अझैं एक दुई वर्ष लाग्नसक्छ । त्यस बेलासम्म हामी चुप लागेर बस्न पनि सकिन्न । जनताका विकासका कामहरु अवरुद्ध गर्ने, दैनिक जीवन यापन ठप्प गर्नेकुरा स्वीकार्य छैन । हामीले सबै कुरालाई चलालयमान बनाउनै पर्छ र कोरोना बिरुछ लड्दै हाम्रा दैनिकीहरु सञ्चालनमा ल्याउनै पर्छ ।

अब यो बताईदिनुस् कि तपाईको पार्टीमा महिला सहभागिताको अबस्था कस्तो छ ?

सही प्रश्न उठाउनु भयो । अहिले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीको केन्द्र, प्रदेश र जिल्ला समितिहरुमा महिला सहभागिताको अबस्था अत्यन्त नाजुक छ । यसले हामी महिलाको नेतृत्वमा बस्ने साथीहरु लाई अपमानित र लज्जित बनाएको छ । नेपालको संविधानले ब्यबस्था गरेको तेत्तीस प्रतिशत सहभागिताको अधिकार हामीले लडेर प्राप्त गरेको हौं । अहिलेकै सन्दर्भमा हेर्दा तेत्तीस प्रतिशत सहभागिताले महिलाहरुको मुक्तिको गर्दैन । हामीले आवज उठाउदै आएका छौ, आन्तरिक पार्टी जीवनमा पनि लड्दै आएका छौं । महिलाको सहभागिता आरक्षणको आधारमा हुन संख्याको आधारमा हुनुपर्छ भन्ने हाम्रो माग हो । हाम्रो पार्टी भित्रको लडाई रोकिएको छैन समान सहभागिता नभएसम्म हामी निरन्तर लडिरहन्छौं ।

तपाईंले बुझ्नु भएको कम्युनिष्ट पार्टी र अहिले दुई तिहाई प्राप्त गरेर सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी बीचमा फरक पाउनु भएको छैन ?

विधी र पद्धतिबाट चलेको तत्कालिन नेकपा एमाले र जनयुद्ध गरेर आएको तत्कालिन माओवादी केन्द्रका बीचमा एकता भए पश्चात पार्टी केही बिग्रिएको जस्तो, केही समस्याहरु आएका छन् । एकता प्रक्रियामा केही समस्याहरु, जटिलताहरु आउनु त अस्वाभाविक होइन । तर पार्टीलाई नैं बद्नाम गर्नेगरी भएका सत्ता प्राप्तीका छिनाझप्टीहरुले सैयौं, नेता कार्यकर्ताको मन दुःखेको छ । पार्टीभित्र विधी, पद्धति र कम्युनिष्ट पार्टीका नेतामा हुने पर्ने न्यूनतम् आचरण र व्यवहार नहुँदा अहिले पार्टी बिग्रन थालेको छ । अहिले देखिएका तमाम समस्याहरु तत्कालै हल हुने र सबै चिज ठिक भइहाल्ने अबस्थामा पनि छैन । यी सबै समस्याहरु महाधिवेशनबाट हल हुन्छन् । अहिलेको अबस्थामा सरकार र पार्टी अध्यक्ष फेर्न गरिएका पार्टी केन्द्रका गतिविधिले पार्टीलाई फुटमा लैजान सक्छ । त्यही कारणले केन्द्र, जिल्ला र स्थानीय स्तरमा रहेका हाम्रो नेतृत्वले विगतमा भएका कमीकमजोरीबाट पाठ सिक्दै पार्टीलाई अनुशासित, मर्यादित र सामुहिक ढंगले सञ्चालन गर्नुपर्छ । त्यसले मात्रै हामीले खोजेको र चाहेको कम्युनिष्ट पार्टी निर्माण हुन्छ ।

फिक्कल गाउँपालिकाको निर्णय प्रक्रियामा उपाध्यक्ष हावी हुन थालिन् भनेर बाहिर चर्चा शुरु हुन थालेको छ । के वास्तविकता त्यहीनैं हो ?

म माथि यस प्रकारको आरोप आउनुलाई स्वभाबिक जास्तो लाग्छ । अन्य गाउँपालिकामा नगरपालिकामा उपाध्यक्ष, उपप्रमुखलाई निर्णायक स्थानमा ठाउँ दिइएन वा पाइएन भनेर आवाज उठिरहेका बेला मेरो बाहिर त्यस्तो कुरा आउनु राम्रो पक्ष हो । अरुले कम पढलेख गरेका छन् त्यसैले पुरुष नेतृत्वले हेप्छन् होलान । वा हाम्रो आफ्नै कार्यक्षमता वा काम गराइको स्पिरिट नमिलेर पनि कहिले काँही त्यस्तो समस्या आएको हुनसक्छ । मेरै सन्दर्भमा भन्नु पर्दा पनि कसै कसैले फिक्कल गाउँपालिकाको उपाध्यक्षले धेरै पढेकी छ, त्यसैले अरु सबैलाई छायाँमा पारेर आफ्नो पक्षमा निर्णय गराई भन्ने आरोप आउने गरेको मैंले पनि सुकेकी छु । त्यसमा म खुशी पनि छु । गाउँपालिका भित्र भएका असन्तुष्टि मिडियासम्म पनि लिएर पुगेका छन् । स्थानीय तहका उप्रमुखहरु तर हामी सामुहिक निर्णयका आधारमा कार्यपालिकाबाटनै समाधान गर्छौ । आफ्नो गाउँपालिका भित्रको टिममा भएका असन्तुष्टि देखिएका कुराहरु लिएर नेतृत्वले जान पनि हुँदैन । केही असन्तुष्टिहरु हुन सक्छन्, ती असन्तुष्टिलाई गाउँपालिका भित्र कार्यपालिकामानै समाधान गर्ने बाताबरण निर्माण गर्नुपर्दछ । नेतृत्व हामीनैं हो भन्ने पनि होइन। सामूहिक निर्णय, सामूहिक जिम्मेवारीमा कहिले काँही सामान्य मतभेद त भइहाल्छन् नि ? तर त्यसलाई कसरि समाधान गर्ने भन्ने कुरा नेतृत्वमा भर पर्दछ ।

तपाईले त लोकसेवा पास गरेर आएका एक राष्ट्रसेवक इन्जिनियरलाई अयोग्य घोषणा गरिदिनुभयो, यस्तो घोषणा गर्न मिल्छ र ?

गाउँ कार्यपालिकाले लगाएको काम पुरा नगर्ने, कार्यालय टिमसँग छलफलै नगरी आफुखुशी हिंडेपछि सरकालाई नटेरेको होइन । जनताले निर्वाचित गरेर पठाएको प्रतिनिधीहरुलाई नटेर्ने, सेवाग्राहीसँग झर्किने, अपमानित गर्ने र तोकिएका कामहरु गर्न आलटाल गर्ने कसरी
राष्ट्रसेवक कर्मचारी हुनसक्छन् । उहाँले उपाध्यक्षलाई मात्र हैन जनाताको अभिमत लाई नटेरेको हो । एक अर्कालाई नटेरी गाउँपालिका लाई असहयोग गर्ने, फिक्कल गाऊँपालिकाको भौगोलिक विकटतालाई ख्याल नगर्ने कुराले सबैभन्दा बढी समस्या सिर्जना  गरेको हो । उहाँमा सैद्धान्तिक ज्ञान त होला, तर फिल्डमा गएर काम गर्न सक्ने क्षमता भने मैंले पाउन सकिंन । लोकसेवा पास गरेको दम्भ देखाएर जनताका काम नगरेपछि हामीले उनलाई अयोग्य भनेका हौं । हामी अहिले पनि उक्त निर्णयमा अडिग छौं । कुनै फेरबदल हुँदैन । उहाँले काम गर्न सक्नुभएन पत्राचार गरियो एकदम सही थियो ।

कार्यपालिका सदस्यमाथि भएको यौनजन्य हिंसालाई तपाईले कानुनी कारबाही हुनबाट जोगाउनु भयो । घटनानैं लुकाउनु भयो भनेर बाहिर प्रचारवाजी भइरहेकाछन् के हो वास्तबिकता ?

हाम्रो कार्यपालिका सदस्य र त्यसमा पनि महिला भएकै कारणले र फरक पार्टीबाट नेकपामा प्रबेश गरेकै कारणले केहि मानिसहरुमा आक्रोस पैदा भएको छ । त्यसको बारेमा कसरी उनीहरुको बदनाम गर्न सकिन्छ भनेर काँग्रेसीहरुले लगाएको आरोप हो । यो महिला माथि गरिएको जघन्य अपराधको रुपमा मैंले लिएको छु । ब्यक्तिगत अश्मीता नै सिध्याउने खेलहरु भएको छ । र उनीहरुले मिडियालाई पनि लगत समाचार लेख्न लगाए । त्यो अत्यन्त दुःखद पक्ष हो । त्यसमा हाम्रो गंभीर ध्यानकर्षण भएको छ । महिलाको अस्मितामाथि जघन्य आरोप लगाउनेहरु माथि हामीले राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गराउने तयारी गरेका छौं । त्यस्ता गलत अफवाह फैलाउनेहरुलाई दण्डित नगरेसम्म त्यस्ता गलत हरकतहरु गरिरहन्छन् । गलत कुरा गर्ने र बाहिर मैंले सबै कुरा लुकायो भनेर हिड्नुको केही अर्थ छैन । महिलामाथि त्यस्तो हिंसा गर्ने र उल्टै बनावटी कुरा कुरा गरेर नेतृत्वको बद्नाम गर्न खोज्नेहरु अपराधिक मानसिकता ग्रसित व्यक्तिहरु हुन् ।

Comment here