प्रदेशसमाचार

काठ तस्करी गर्ने किर्ते अध्यक्ष पक्राउ

सिन्धुली, १५ भदौ २०७७

सिन्धुलीमा सामुदायिक वनको किर्ते अध्यक्ष बनेर काठ तस्करी गर्ने एक जना पक्राउ परेका छन् । सिन्धुलीको मरिण गाउँपालिका ३ मा किर्ते अध्यक्ष बनाएर अबैध काठ चोरी निकासी गर्दैगर्दा एक जना पक्राउ परेका हुन् ।

बुद्ध सामुदायिक वन उपभोक्ता समुहका सदस्य जित बहादुर मोक्तानलाई किर्तेगरी अबैध रुपमा सालको काठ कटान गरी विक्री गर्दैगर्दा स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन् ।

समुहका अध्यक्ष नारायणबहादुर लामाका अनुसार मोक्तानले साताधार क्षेत्रमा कटान गरी घाटगद्धी गरिएको सालको गोलिया काठ आफु समुहको अध्यक्ष समेत भएको भन्दै किर्ते कागज बनाई विक्री गर्न लागेको थाहा पाएपछि स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।

मोक्तानले व्यवसायीलाई झुक्याएर १ लाख ५० हजार रुपैयाँ पेश्कि समेत लिई बन्दको समयमा अनेत्र जिल्लामा लैजाने गरी काठ विक्री गर्न लागेको पाइएपछि छानविन गरी आवश्यक कारबाहीका लागि डिभिजिन वन कार्यालय र प्रहरीमा खबर गरी जिम्मा लगाईएको हो,’ अध्यक्ष लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मोक्तानले वन समुहको किर्ते लेटरप्याड, छाप, नगदी रसिद बनाई काठ विक्री गर्ने गरेको र भुकम्प पिडित उपभोक्ताहरुलाई निःशुल्क वितरण गरिएको काठको समेत नक्कली रसिद प्रयोग गरेर पैसा असुल्ने गरेको पाइएको छ ।

Comment here