जीवन सैलीप्रदेशसमाचार

कोरोनाबाट थप तीन जनाको मृत्यु

सिन्धुली, १२ साउन २०७७

नेपालमा कोरोना भाइरसबाट थप तीन जनाको मृत्यु भएको छ । यो संगै मृतकको संख्या ४८ पुगेको छ ।

आइतबार र सोमबार गरी तीन जना नयाँ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको फेटा गाउँपालिका–३ निवासी ६० वर्षीय वृद्धको सङ्क्रमणले मृत्यु भएको जानकारी दिनुभयो । वृद्ध निमोनिया, मस्तिष्कघात र मृगौलाका बिरामी रहेको उहाँको भनाई छ ।

उहाँका अनुसार धनुषा र पर्साको वीरगञ्ज गरी दुई जनाको पछिल्लो चौबीस घण्टामा मृत्यु भएको छ । धनुषाको शहीदनगर नगरपालिका–८ डुमरियाका ३६ वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । वीरगञ्ज महानगरपालिका वडा नं १० का ६५ वर्षीय एक वृद्धको आइतबार बिहान कोरोना संक्र्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । ६५ वर्षीय वृद्धको गण्डक अस्पताल बिरगञ्जमा उपचारका लागि भर्ना गराइएकोमा मृत्यु उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । उहाँ मधुमेह र मुटु रोगीसँगै कोरोनाभाइरसबाट सङ्क्रमित हुनुहुन्थ्यो ।

यसैविच १३९ जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको संख्या १८ हजार ७५२ पुगेको जनाएको छ । नेपालमा हाल कोभिड–१९ को भाइरस सक्रिय रहेको सङ्क्रमितको संख्या चार हजार ९५० रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ६२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार हालसम्म १३ हजार ७५४ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

Comment here