समाचार

नाबालकले पनि सिमकार्ड लिन पाउने

सिन्धुली, २४ असार २०७७

अव नावालकले पनि नेपाल टेलिकमको सिमकार्ड लिन पाउने भएका छन् । अभिभावकको नाता प्रमाणका आधारमा नावलकको नाममा पनि सिमकार्ड पाउने भएका हुन् ।

अहिले नागरिकता भएका व्यक्तिले मात्र सिमकार्ड लिनसक्ने प्रावधान रहेकामा अभिभावकको नाता प्रमाणका आधारमा नाबालकले पनि सिमकार्ड लिन पाउने व्यवस्था गरेको हो ।

एक व्यक्तिले अबदेखि आफ्नो नाममा दुईभन्दा बढी सिमकार्ड निकाल्न पाउने छैैनन् । सिमकार्डको सम्भावित दुरुपयोग रोक्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था लागू गरेको हो । कुनै एक प्रयोगकर्तालाई सम्बन्धितको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको छ । प्राधिकरणको उक्त निर्देशन सेवा प्रदायक कम्पनीलाई जानकारी गराइसकिएको निर्देशक विजय रोयले जानकारी दिनुभयो ।

एकै व्यक्तिले जति पनि सिमकार्ड लिन पाउने विद्यमान व्यवस्थाका कारण भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी, जसलाई अवैध कल मानिन्छ) जस्ता गतिविधि नरोकिएको र यसले गर्दा सेवा प्रदायकले नै ठूलो रकम गुमाउनुपरेको प्राधिकरणले जनाएको छ ।

अहिले एक व्यक्तिले कुनै एक दूरसञ्चार सेवा प्रदायकको दुईभन्दा बढी सिमकार्ड लिएको भएमा त्यसबारे जानकारी गराउनुपर्ने जिम्मेवारी पनि सेवा प्रदायकको नै रहने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसरी दुईभन्दा बढी सिमकार्ड लिएका व्यक्तिलाई एसएमएसमार्फत जानकारी गराउनुपर्ने र सम्भव भएसम्म दुईवटामा मात्र सीमित गराउन अनुरोध गर्नुपर्ने निर्देशन सेवा प्रदायकलाई दिएको हो । प्राधिकरणको निर्णयअनुसार नेपाल टेलिकमले सीडीएमए सेवासमेत उपलब्ध गराइरहेकाले एक व्यक्तिको नाममा तीनवटा सम्म सिमकार्ड जारी गर्नसक्ने सुविधा दिएको छ ।

Comment here