राजनीतिसमाचार

काँग्रेसको महाधिवेशन फागुनमै हुने

काठमाण्डौ, २३ असार २०७७
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले आगामी फागुनमा हुने पार्टीको १४ औँ महाधिवेशनको मुख्य कार्यतालिका यथावत् राखी वडादेखि प्रदेशसम्मको कार्यतालिका फेरबदल गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि महामन्त्री पूर्णबहादुर खड्काले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौँमा हुने गरी तय गरिएको केन्द्रीय महाधिवेशनको कार्यतालिकामा भने कुनै परिवर्तन नगरिएको बताउनुभयो ।

सत्तारुढ दलभित्रको विवादका कारण संघीय संसद्को अधिवेशन अन्त्य गरिएकोमा काँग्रेसले आपत्ति प्रकट गरेको छ । महामन्त्री खड्काले सत्ताको कलहसँग काँग्रेसलाई जोडेर गरिएको प्रचारलाई काँग्रेस बैठकले खारेज गर्ने निर्णय गरेको बताउनुभयो ।

यसैगरी, विदेशबाट नेपाली ल्याउँदा यात्रुहरूले महँगो भाडा तिर्नु परेको तिर्नुपरेको र खेती गर्ने बेलामा किसानले मल बिउ नपाएकोमा काँग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम पर्याप्त नभएको भन्दै सरकारको आलोचना पनि गरेको छ ।

सलहबाट पीडित किसानलाई राहत उपलब्ध गराउन माग गर्दै र वर्षात् समयमा हुने विपद् व्यवस्थापनका लागि अहिलेबाटै उच्च सर्तकता अप्नाउन सरकारको ध्यानाकर्षण गराएको छ । केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार, बैठकले पार्टीमा समायोजनको काम सक्न बाँकी रहेका जिल्लालाई साउन १० गतेभित्र सक्न निर्देशन दिएको छ । यसैगरी, फेरबदल गरिएको कार्यतालिका अनुसार, साउन मसान्तमा जिल्ला सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरूको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउनुपर्ने छ ।

केन्द्रमा प्राप्त क्रियाशील सदस्यको अन्तिम विवरण तयारी पार्टी सभापतिले हस्ताक्षर गरेको क्रियाशील सदस्यहरुको सूची निर्वाचन समितिलाई बुझाउने अन्तिम मिति मङ्सिर मसान्तभित्र तोकिएको छ । त्यसपछि निर्वाचन समितिले गाउँ नगर, वडादेखि क्रमशः अधिवेशन गराउँदै जाने छ । गोरखापत्र अनलाईनबाट साभार

Comment here