समाचार

कमलामाईले कृषक परिचय पत्र वितरण गर्ने

सिन्धुली, १२ असार २०७७

यहाँको कमलामाई नगरपालिकाले बास्ताविक कृषकको तथ्याङ्क संकलन गरि कृषक परिचय पत्र वितरण गर्ने भएको छ । सातौ नगरसभाबाट स्वीकृत आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा कृषक परिचय पत्र दिने कार्यलाई प्राथमिकतामा राखेको छ । बास्ताविक किसान जो कृषि कर्म गरेर आफ्नो परिवार चलाउदै आएका छन् त्यस्ता किसानको पहिचान गरेर कृषकको तथ्याङ्क संकलन गरि कृषक परिचय पत्र वितरण गर्ने मेयर खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

साथै नगरपालिकाले सिंगो कमलामाईको आर्थिक विकासका लागि कृषि तथा पशुपालन व्यवसायलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले भू–उपयोग नितिको आधारमा जमीनको वर्गिकरणगरिने, कृषि योग्य जमिन बाँझो राख्न नपाइने, कृषि योग्य जमिनलाई सहकारीताको आधारमा चक्लाबन्दि खेतीलाई प्रोत्साहन गरिने कार्यक्रम ल्याएको बताउनुभयो ।
बास्ताविक किसानलाई सरल तरिकाले उत्पादनमा अनुदान दिइने, कृषि सप्टवेयरको अधिकतम प्रयोगमा जोड दिने, अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने, कृषकले उत्पादन गरेको कृषि बस्तुको बजारीकरणको प्रबन्ध गर्ने कार्यक्रम आर्थिक बर्ष २०७७÷७८ को निति तथा कार्यक्रममा समावेस गरेको छ ।
कृषि यान्त्रिकरण, मल, वीऊ, प्रविधि तथा प्रशोधित एवं भण्डारणलाई अनुदानको व्यवस्था गरिने, धानको वीऊ उत्पादनको सुरु गरिने, पशुपंक्षि तथा कृषि व्यवसायमा विमा लागु गरिने, न्यूनतम समर्थन मुल्यमा कृषकले उत्पादन गरेको उत्पादित बस्तुहरु किन्ने व्यवस्था मिलाइने कार्यक्रम पनि ल्याएको छ । दुग्ध चिस्यान केन्द्र, पशु स्रोत केन्द्र र नर्सरी लगाएतका सेवाहरु विस्तार गर्ने, कोभिड–१९ का कारण रोजगारी गुमाई घर फर्किएका व्यत्तिःहरुको लगत संकलन गरि कृषि क्षेत्रमा सामुहिक व्यवसाय गर्न चाहाने युवालाई सहुलिएत ऋणको पहल गरिने कार्यक्रम ल्याएको छ ।

नगरपालिकाले आर्थिक बर्ष २०७७÷७८ मा माटो अनुकुल एकै बाली उत्पादन गर्ने निति सहित एक वडा एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिने र माटो परिक्षण शिविरहरु गर्ने भएको छ ।

दुध, कुखुराको अण्डामा कमलामाई नगरपालिका आत्मनिर्भरको नजिक पुगेको र अव क्रमश तरकारीमा आत्मनिर्भर हुनै नीति लिइने, नश्ल सुधार कार्यक्रम गर्ने, घाँस खेतीमा अनुदान दिइने, पशुबाट लाग्ने रोग नियन्त्रणका लागि खोप कार्यक्रम गर्ने, रोगहरुको नियन्त्रण तथा रोकथामका लागि क्वारेन्टिन प्रयोगशालाको स्थापना गर्ने कार्यक्रम समावेस गरेको छ ।

कृषि शिक्षा हासिल गरेका विद्यार्थीलाई व्यवसायिक खेतीमा प्रोत्साहित गर्ने, दाना उत्पादनको लागि प्रक्रिया अगाडी बढाइने नगरपालिकाले जनाएको छ ।

Comment here