बिचारराजनीति

नेपाली विद्यार्थी आन्दोलनको समिक्षा र आगामी कार्यभार

समिक्षा :

(१) राणा विरोधी आन्दोलन उठान गर्दा गंगालाल श्रेष्ठको बलिदानी, शिक्षामा कर्मकाण्ड वाहेकका अन्य विषयहरु समावेश गर्नुपर्ने माग सहितको ‘जयतु संस्कृतम’ राणाविरोधी आन्दोलन, अखिल नेपाल विद्यार्थी फेडरेशनद्वारा राणा, राजा, काँग्रेस र भारतीय मध्यस्थतामा राष्ट्रघाती दिल्ली सम्झौताको विरोध गर्दा विद्यार्थी नेता चिनियाकाली श्रेष्ठको हत्या, एकता कै प्रशव अवस्थामा नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनमा आएको संशोधनवादी र विर्सजनवादी चरित्रका कारण अन्तर कलेज विद्यार्थी युनियनको नाममा संगठित हुँदै गोर्खा भर्ति केन्द्रको खारेजी, स्ववियु खोल्न पाउने अधिकारको व्यवस्था, असमान राष्ट्रघाति सन्धी सम्झौताको खारेजीको माग गर्दै उपत्यका व्यापी आमहड्तालको उपलब्धि स्वरुप स्ववियु खोल्न पाउने मागप्रति निरंकुश पञ्चायती व्यवस्थाले घुँडा टेकेपछि वि.सं. २०२२ सालमा अनेरास्ववियुको स्थापना भयो । सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद र प्रतिक्रियावादका विरुद्ध संघर्ष गर्दै जनवादी शिक्षा प्रणाली लागु गर्ने ध्येय सहितको प्रगतिशिल विचार अनेरास्ववियुले अँगालेपछि त्यसको विरोध गर्दै यथास्थितिवादी एक समूहले वि.सं. २०२७ सालमा छुट्टै नामको ‘नेपाल विद्यार्थी संघ’ को गठन गरे । त्यसपछि उसको यथास्थितिवादी, प्रतिक्रियावादी, आत्मसर्मपणवादी रवैया र चरित्रका कारण शिक्षाक्षेत्रमा अपवित्र साँठगाँठ, गुटगट स्वार्थ अँगाल्दै जनतालाई गुमराहमा पार्न कहिले सडक संघर्ष, कहिले सत्तामोह त कहिले पतनको वाटो हुँदै अहिले कोमामा पुग्न लागेको अवस्था छ ।

(२) एकातर्फ फुटको श्रृंखलावाट अनेरास्ववियुकै नाममा माले र माओ विचारप्रति आस्था राख्ने २ वटा फरक–फरक संगठन वन्न पुगे, ती संगठनका आ–आफ्ना संघर्ष र गतिविधिहरु हुँदै गए । अर्कोतर्फ साम्राज्यवादी शिक्षाको नक्कल, शिक्षामा नीजि र व्यापारीकरणको प्रोत्साहन, राज्य शिक्षाको दायित्ववाट पछि हट्ने व्यवस्था सहितको वि.सं. २०२८ को नयाँ शिक्षा योजना जारी भइसकेपछि र सिक्किमलाई भारतमा गाभ्ने निर्णय र पञ्चायति व्यवस्थाका विरुद्ध माओ विचारधारी क्रान्तिकारी विद्यार्थीहरुले देशब्यापी विरोध प्रर्दशन, शैक्षिक हड्ताल र संघर्षका कार्यक्रम गरे । त्यसपछि भारतद्वारा सुस्ता र महेशपुरमा भएको अतिक्रमण विरुद्धको आन्दोलन, भारतीय चेकपोष्ट हटाउ आन्दोलन, छिन्ताङ हत्या काण्ड विरुद्धको आन्दोलन उठान भयो । त्यसपछिका वर्षहरुमा पनि अखिल भित्र कहिले एकता त कहिले फुटको श्रृंखला दोहोरिँदै गयो । राष्ट्रियता र जनजीविकाका पक्षमा संघर्ष गर्दै वि.सं. २०५० सालको हेटौंडाको सम्मेलनले माओ विचार वोक्ने अखिलको पछाडी (क्रान्तिकारी) शब्दावली थपियो र वि.संं. २०५२ फागुन १ गते देखि सुरु भएको जनयुद्धमा संगठन होमियो । राजतन्त्रको अन्त्य, धर्मनिरपेक्षता, जनवादी शिक्षा, समावेशी–समानुपातिक प्रतिनिधित्व, जनजिविका, गणतन्त्र र संघीयताको मुद्दा उठान गर्दै भिषण जनयुद्ध र त्यसको जगमा चलेको २०६२÷०६३ को जनआन्दोलमा हाम फाल्दै त्याग, तपश्या र वलिदानको कोटा चुक्ता गर्दै गर्दा साँढेझैं मातिएको राजतन्त्र ग¥ल्याम्मै ढलि मुलुक संघिय गणतन्त्रमा प्रवेश गर्न पुग्यो । त्यसपछि पनि संगठनले विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट, अन्य विभिन्न क्षेत्रमा विद्यार्थी सहुलित, राष्ट्रियता र जनजिविकाको पक्षमा आफ्नो आवाज वुलन्द गर्दै आइरहेको छ ।

(३) आज एकता, संघर्ष र रुपान्तरणको मर्म अनुरुप जनवादी शिक्षा प्राप्तीको आन्दोलनमा अघि वढेका २ ठुला संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) वीचमा एकता भई एकीकृत अनेरास्ववियू वन्न पुगेको छ । जनवादी शिक्षा प्राप्तीको आन्दोलनवाट प्राप्त उपलब्धिको रक्षा गर्दै वाँकी कार्यभार पुरा गर्न तथा समाजवादी शिक्षा प्राप्तीको लक्ष्यतर्फ आफूलाई एकतावद्ध वनाई नेपाली समाजको रुपान्तरणको संघर्षमा उत्रने अठोट अनेरास्ववियूले गरेको छ भने अर्कोतर्फ गुट–उपगुट र स्वार्थभन्दा माथि उठ्न नसकेको नेपाल विद्यार्थी संघ आफ्नै पिँडा र विवशतामा रुमल्लिदै विद्यार्थीको नाममा गतिविधि गर्न घस्रिदै छ ।

वर्तमान अवस्था :

(१) विद्यार्थी संघ–संगठन प्रतिपक्ष आन्दोलनको नेतृत्वकर्ता हो । मूलतः विद्यार्थी आन्दोलन विद्यार्थी समूदायको हक, हित, अधिकारको संरक्षण र सम्वद्र्धनका निम्ति गोलवद्ध हुनुपर्नेमा व्यक्तिवादी चिन्तन, शक्ति, पद, लोभ, मोहका साथ मडारिदै कता–कता सत्तासँग साँठगाँठ गरिरहेको भान हुन्छ । नेपाली भुमि मिचिरहेको छ, कालावजारी, महंगी, भ्रष्टचार मौलाइरहेको छ । शिक्षालाई व्यापार वनाई कमाउनेले नेपाली जनताको रगत र पसिना चुसिरहेका छन् । मुलुकमा हुनेखाने र हुँदाखानेका लागि द्वयशिक्षा लागु भएको छ, हाम्रो देशको शिक्षाप्रणाली, संस्कार र सिकाइले राष्ट्र, राष्ट्रियता भन्दा पनि युरोप, अमेरिकातर्फ लोभ्याउने, विदेशको पढाई र कमाई गर्व गर्न वाध्य वनायो । समग्र शिक्षा क्षेत्र माफीयाहरुको चंगुलमा फसिरहेको छ तर विद्यार्थी आन्दोलन कानमा तेल हालेर वस्नुपर्ने यो कस्तो वाध्यता आयो ? सत्ता संचालन गर्ने माथिदेखि तलसम्मका सवै नेतृत्वका कार्यशैली, व्यवहार देख्दा जनता आजित भइसकेका छन् तर त्यसका विरुद्ध संघर्ष गर्नु त परै जाओस् हिम्मतका साथ संघ–संगठनको तर्फवाट एउटा विज्ञप्ति सम्म निकाल्ने साहस राख्दैन भने त्यस्ता संघ–संगठनवाट आम विद्यार्थी र जनताले के अपेक्षा गर्ने ?

(२) अहिले सत्ता, सरकार र विद्यार्थी संघ–संगठन उस्तै–उस्तै देखिन थालेको छ, छुट्याउन हम्मे–हम्मे पर्छ । विगतलाई हेर्ने हो भने राजनैतिक दललाई समेत प्रतिवन्ध लगाउँदा विद्यार्थी संगठनले राष्ट्रियता, जनजीविकाका पक्षमा नेतृत्वदायी आन्दोलन गरी शासकलाई घुँडा टेकाएको एकातर्फको इतिहाँस हामीसँग छ भने अर्कोतर्फ सत्ता र सरकारका सवै विशेषता र व्यवहारसँग मिल्ने व्यवहार सहितको (केहि फरक नदेखिने) विद्यार्थी संघ–संगठनको भूमिका हाम्रो सामु छर्लँङ्ग छ ।

(३) नेपालको वर्तमान संविधानले आधारभूत तहलाई अनिवार्य र निशुल्क, त्यस्तै माध्यमिक तह सम्मको शिक्षालाई निःशुल्क गर्ने व्यवस्था गरेता पनि त्यो केवल कितावको पानामा मात्र सिमित भएको छ । भए गरेका शिक्षाक्षेत्रका लगानी पनि वालुवामा पानी खन्याएझैं भइरहेको छ, उपलब्धि शुन्य । राजतन्त्र फालियो–गणतन्त्र आयो, व्यवस्था परिवर्तन भयो तर व्यवहार परिवर्तन गर्न सकिएन, नीति वनाइए– कार्यान्वयन गरिएन, व्यक्ति फेरिय–प्रवृत्ति फेरिएन, जसको परिणाम स्वरुप पुरानै धङधङी र ढर्रावाट संचालित शिक्षा प्रणालीका कारण विद्यालय देखि विश्वविद्यालय सम्म आज वेरोजगार उत्पादन गर्ने कारखाना वनेका छन् ।

(४) स्वास्थ्य अवस्था झन् कहालिलाग्दो र टिड्लाग्दो अवस्था छ । स्वास्थ्य क्षेत्र पूर्ण रुपमा सरकारी तवरवाट संचालन गर्नुपर्ने राज्यको दायित्व भएता पनि भुमण्डलीकृत साम्राज्यवादी चंगुल, सरकारी, सहकारी र नीजिक्षेत्रको अवधारणा अनुरुप स्वास्थ्य जस्तो संवेदनशील विषयमा नीजि क्षेत्रलाई अवसर दिँदा क्लिनिक, अप्पताल देखि मेडिकल कलेज सम्म मानव प्रयोगशाला वन्न पुगेका छन् । स्वास्थ्य उपचारको नाममा कहालिलाग्दो शुल्क अशुल्ने नीजि स्वास्थ्य संस्थाहरु मानवीय संवेदनामाथि व्रह्मलुट मचाइरहेका छन् भने सरकारी स्वास्थ्य संस्थाको अवस्था त त्यो भन्दा पनि गएगुज्रेको छ । जनता आधारभूत स्वास्थ्य सेवा लिन नपाएर अकालमै मरिरहेका छन् । अझ भनौं २१ औं शताब्दीकै चुनौति र महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण नेपालमा पनि संक्रमितको संख्या, संक्रमणको दर दिनानुदिन बढिरहेको छ, मुलुक पुरै लकडाउनको अवस्थामा गुज्रिएको ७९ दिन भइसक्यो तर भाइरस नियन्त्रण गर्न सरकार अझैपनि असफल भइरहेको छ । जनतालाई घरमै वस्नु भनेर आफू सिंहदरवारमा निदाइ रहेको भान हुन्छ । उद्योग, कलकारखाना, व्यापार, व्यवसाय र मानिसका दैनिकी ठप्प छन्, दैनिक काम गरेर खाने ज्यालादारी मजदुरको अवस्था झन् दर्दनाक छ । स्वदेशमा सम्भावना नदेखि आफु र आफ्नो परिवारको सुन्दर भविष्यको सपना देख्दै विदेशिएका नेपालीहरु कामविहिन भएर विदेशमा अलपत्र छन् । अध्ययनको शिलशिलामा विदेशिएका नेपाली विद्यार्थीहरुको हालत पनि उस्तै छ तर सरकारले अझै पनि उनीहरुको उद्धारका निम्ती ठोस कदम र जिम्मेवारी लिन सकिरहेको छैन । त्यस्तै सधैंझैं सडक तताउने विद्यार्थी संघ–संगठन पनि यस्तो संवेदनशिल र कहालिलाग्दो अवस्थामा पनि सरकारलाई खवरदारी गर्न समेत चुकिरहेको छ । जनताको सारथि वन्दै उनीहरुका पिरमर्कामा मलम्पट्टी लगाउनु पर्ने अवस्थामा संगठन लकडाउनको वहाना वनाई मस्त निन्द्रामा सुतिरहेको छ, कहिले व्युँझिने हो कसैलाई पत्तो छैन, पत्तो हुनेको पहुँच पुग्दैन ।

(५) विधि, पद्धति, निष्ठा र व्यवहारको वकालत गर्दै समृद्ध समाज निर्माण गर्ने लक्ष्य वोकेको विद्यार्थी संघ–संगठन आज ति सवै कुरालाई तिलाञ्जली दिँदै माउ–हाँउगुजी वा सरकारको नाममा जनप्रतिनिधिले गरेका अनियमितता, भ्रष्टाचार, काला कर्तुत र दुङ्ग–दुङ्ग गन्हाउने कामको पर्दाफास÷विरोध गर्नुको सट्टा आफैं सत्ता रहे झैं अवसरवादी, जासुसि, चम्चागिरी र चाप्लुसी व्यवहारको ङिच्च दाँत देखाउँदै मालिकको जयजयकार र तुम–शरणम गरि वसिरहेका छन् । कारणः त्यति नगरे मालिकवाट जिम्मेवार विहिन वनाइने डर, अवसरवाट वञ्चित हुने त्रास, काला कर्तुतको पक्षमा तालि नवजाए स्पष्टिकरण सहित वहिष्कारै हुने डर । कठै हाम्रो वौद्धिकता–कठै हामी राष्ट्रका पहरेदर–कठै हाम्रा सपना, त्याग र बलिदानी !

आगामी कार्यभार :

(१) हामी हाम्रा स्वार्थ भन्दा माथि उठि विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउन, उचित स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर्न र विदेशवाट सिकेका श्रम र सीपलाई स्वदेशमै परिचालन गर्ने व्यवस्था गरी वृहत्तर रोजगारी सृजना गर्न सरकारलाई निरन्तर खवरदारी गर्ने वेला भएको छ । लकडाउनले जर्जर वनेको नेपाली जनताको दैनिकी, रोगले भन्दा पनि भोकले मर्नुपर्ने अवस्थालाई अन्त्य गर्न सरकारलाई झक्झक्याउने, रचनात्मक संघर्षका सबै अस्त्र प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ । लकडाउनका कारण नीजि क्षेत्रमा कार्यरत शिक्षक, कर्मचारी, कामदार वेरोजगार वनेका छन् । तलव, भत्ता, ज्याला विहिन उनीहरुको जीवनयापनमा धौ–धौ परिरहेको छ । तसर्थ, नीजि क्षेत्रलाई पनि राहतको महशुस हुने गरी तत्कालै सरकारी तवरवाट कार्यक्रम ल्याई शिक्षक, कर्मचारी र कामदारको तलव सुविधा दिन नीजि क्षेत्रलाई वाध्यकारी वनाउन सरकारको ध्यानाकर्षण र खवरदारी गर्नैपर्छ ।

(२) अव शिक्षा नीति र कार्यक्रमलाई माटो सुहाउँदो वनाउन, शिक्षालाई–श्रमसँग, श्रमलाई–सीपसँग, सीपलाई–उत्पादनसँग र ज्ञानलाई–व्यवहारसँग जोड्दै पाठ्यक्रम, भौतिक संरचना, परीक्षा प्रणाली लगायतको पुर्नसंरचना गर्दै वैज्ञानिक र समाजवादी शिक्षा लागु गर्न दवाव सिर्जना गर्ने । समाजमा विद्यमान जातिय, वर्गिय, क्षेत्रीय, लैंगिक विभेदको अन्त्य गर्न खवरदारी गर्ने र समान अवसर र प्रतिनिधित्व स्थापित गर्न संघर्ष गर्न अव विद्यार्थी आन्दोलन खुम्चिनु हुन्न । मुलुकमा व्याप्त भ्रष्टाचार, नातावाद, कृपावाद, चाप्लुसी, तस्करी, कमिशनखोरी, कालोवजारीको अन्त्यका लागि सचेतनापूर्वक गोलवद्ध भई त्यस्ता प्रवृत्तिको अन्त्यका लागि रचनात्मक संघर्ष÷आन्दोलन गर्नैपर्छ । गर्ने । विगतका सरकारले गरेका र वर्तमान सरकारले गर्न लागेका कोशि, गण्डक, महाकाली, ःऋऋ जस्ता असमान, राष्ट्रघाति सन्धि, सम्झौताको खारेजीका लागि वृहत जनदवाव सिर्जना गर्न ढिला भइसक्यो ।

(३) कोरोना परिक्षणका लागि आवश्यक पर्ने किट, मेसिन, यन्त्र उपकरण, जनशक्ति व्यवस्थापन, मापदण्ड वमोजिमका व्यवस्थित क्वारेन्टाइन, आइसोलेसन कक्ष निर्माण एवम् अत्यावश्यक औषधिहरु जनतालाई पुग्ने गरि व्यवस्थापन गर्न सरकारलाई विभिन्न संयन्त्र मार्फत रचनात्मक सुझाव र दवाव सिर्जना गर्न हामी चुकिसकेका छौं । तीन तहका सरकारले जोडर विकासे वजेट र विभिन्न वहानाका गोष्टि खर्चलाई स्वास्थ्य क्षेत्रमा खर्च गर्ने व्यवस्था, ७७ वटै जिल्लाका अस्पताल, स्वास्थ्य संस्थावाट नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नैपर्ने वर्तमानको हाम्रो कार्यभार हो । तर यो या त्यो वहानामा अनावश्यक, कपोकल्पित आरोप लगाई सरकारलाई कमजोर वनाउने र आफूँ पानीमुनिको ओभानो वन्ने तर्फ युवा पुस्ताको ध्यान भने जानुहुन्न ।

(४) “समृद्ध नेपाल–सुखि नेपाली” भन्ने नारा वोकेको सरकारलाई खाद्यान्न, औषधि लगायत दैनिक उपभोग्य वस्तुको कालावजारी अन्त्य गर्दै सुपथ, सुलभ मूल्य र स्थानमा जनतालाई उपलब्ध गराउन, वेरोजगार वनेका श्रमजीवि जनतालाई देखावटी राहतको सट्टा घरपायक हुने गरी विकास निर्माणका काममा खटाई उचित पारिश्रमिक दिने व्यवस्था गर्न खवरदारी गर्नैपर्छ । कृषिमा अथाह सम्भावना वोकेको हाम्रो देशमा कृषिलाई आधुनिकीकरण, व्यवसायिकरण गर्दै किशानलाई निःशुल्क विउ, विजन, औषधि, यन्त्र उपकरण, प्राविधिक सहयोगको ज्ञारेन्टी र कृषि उपजलाई उचित वजारको व्यवस्थापन गर्न सरकारलाई झक्झक्याउनु पर्ने आवश्यकता रहेको छ ।
अन्त्यमा, विद्यार्थी संगठन र आन्दोलनलाई आम विद्यार्थी जगत र जनताले नजिकैवाट नियालिरहेका छन् । सहयोग, आशा, भरोषा र अपेक्षा पनि गर्ने गर्दछन् । त्यहि सहयोग, आशा र अपेक्षालाई सकारात्मक ढंगले जनउत्तरदायी वनि रचनात्मक संघर्ष गरौं– यो देशको मुहार फेर्न सकिन्छ ।

लेखकः उत्तम प्रसाद पहाडी
केन्द्रिय सदस्य, अनेरास्ववियू तथा
पूर्व सिन्धुली जिल्ला अध्यक्ष हुनुहुन्छ

Comment here