साहित्य

माटोको माया

शरदको सितल मौसममा
गौरीशंकर हिमालको चिसो हिउँले
कठ्याङ्ग्ग्रिका हातहरु
देशको माटोमा दुश्मनका पैताला अगाडी बढेपछी
रापिएर तातेका थिए
वाफिएर उम्लिएका थिए
मुटुमा देशप्रेमको दन्दन आगो बलेपछी
वैरिका रगतमा होलि खेल्ने
उत्तेजनामा प्रज्ज्वलित भावनाहरु
हो त्यही मौसम हो अहिले
पोल्दैछ हृदय रोमरोममा
सुस्ता कालापानी र लिपुलेक सँगै
उम्लिरहेको छ वीर गोर्खाली रगत
लक्ष्मणपुर बाँधसँगै डुबेका गरिब निमुखा वस्तिहरु
दशगजामा ढलेका जङ्गे पिल्लरहरु सम्झँदा
लडाउँन तम्सन्छु साम्राज्यवादका
उन्मादका उदण्ड पर्खाल
सम्झन्छु कुमाउ , गढवाल र नालापानीको युद्द
अनि
सिंहनाद गर्दै अत्याधुनिक हतियारका समीप
भुत्ते खुकुरी टल्काएर गर्जेको
मेरो विरता मेरा अग्रजहरु
वम वारुदको घेराभित्र
पानीमा समेत नाकावन्दी गरेपछी
दुधे वालक र गर्भवती महिलाको साथ लिएर
लड्दै गरेका वीर बलभद्रको ईतिहास
बृद्ध भक्ती थापा र अमरसिंहका विरताहरु
गर्वले छाती भरिएर आउँछ
ढुङ्गा माटो झारपात र किरा फटयांग्राहरुका समेत
देशप्रेम सम्झिन्छु
वंशी गुरुङको कमान्डिङमा भएको
सिन्धुली गढीको लडाईँमा
म त्यही सिन्धुलियन हुँ
गढीबाट बग्ने पानी पिएको छु
त्यही पानीले आर्जन गरेको
अनाज खाएको छु
हामी कमजोर हैन
हाम्रा सत्ता स्वार्थमा लिप्त गरिब आत्माहरु
व्यक्तिगत भलाई र प्रतिष्ठाका निम्ति
झुक्न सम्म झुके
लुक्न सम्म लुके
दुष्मनको हातको आशिर्वाद थाप्तै
तिनैका पैतालाको माटो उठाएर
टीका ग्रहण गर्दै
गरेको जि हजुरिमा
हाम्रा मानसिकतामा दर्विलो चोट लाग्यो
नेपाली मन मस्तिष्कमा भाल रोप्तै
सर्जरी गरियो
तिनैका पुच्छर समातेर वैतर्णी तर्ने दाऊपेचमा
लुला र लङ्गडा बनाउँदै नेपाली
आत्मा कुण्ठित गरियो
शिक्षा स्वास्थ्य र गरिबिको भुङ्ग्रो विछ्याएर
योद्धाको रगत शिथिल पार्ने जमर्कोमा
पिल्स्याउन सम्म पिल्स्याईयो
कता खोजौँ सुन्दरी आमा
म त झुत्रीकै सन्तान हुँ
आमा जस्ती नै हुन् उनकै काख प्रीय लाग्छ
त्यही मैलो पोल्टो भित्र डुबुल्किदै हुर्केँ
मेरो आमाको अस्मिता माथी कुठाराघात गर्ने
कुचेष्टा गरिन्छ भने
सक्दिनँ पटक्कै सहँन सक्दिनँ
मृत्यु शाश्वत सत्य छ
हाँसेर अँगाल्छु उसैलाई
मेरो माटोको माया
अजम्वरी छ अटुट छ
म मेरै आमाको पोल्टामा भोक भोकै निदाउँन सक्छु
आमा बलत्कृत भएको हेर्दै बस्न कदापि सक्दिनँ
प्राण जाओस् आमाको रक्षाको निम्ति
शरिरमा एक थोपा रगत रहेसम्म
लडिरहँनेछु,जुधी रहँनेछु।।
२०७६ ०७ २१ गते

Comment here