बिचार

विपन्न र श्रमिकको सारथी वने राजन र दिपा

सिन्धुली, ६ बैशाख २०७७

यतिवेला विश्वलाई नै त्रसित बनाई रहेको छ कोरोना भाइरसले । कोरोना भाइरसको संक्रमण हुन नदिन र यसको जोखिम न्युनीकरण गर्न नेपाल सरकारले देश नै लकडाउन गरि रहेको छ । लकडाउनका कारण अप्ठेरोमा परेका नागरिकलाई यतिवेला नेकपा सिन्धुलीका अध्यक्ष तथा प्रदेश सभा सदस्य लेखनाथ दाहाल (राजन) विपन्न र श्रमिकहरुको सारथी बन्नु भएको छ ।

उहाँसंगै सुनकोसी गाउँपालिका अध्यक्ष दिपा बोहोरा पनि लकडाउनले समस्यामा परेका नागरिकको उद्धारमा लाग्नु भएको छ । गाडीमा चढेर काठमाडौंको यात्रा गर्नेहरु केहि दिनदेखि हप्तौँ लगाएर गाउँ जान थाले । नेकपाको सिन्धुली जिल्ला अध्यक्षको साथै पार्टीको केन्द्रिय नेतृत्वमा प्रभाव राख्ने दाहाललाई आफ्नै आँखा अगाडि विपन्न र श्रमिकहरु पैदल नै हिडेर आफ्नो गाउँ फर्किएको हेरेर बस्न आफ्नो वर्गीय आचरणले दिएन त्यसैले उहाँले सुनकोशी गाउँपालिका प्रमुख दीपा बोहोरा र स्थानीय स्वास्थ्यकर्मीको परिचालन गरेर शहरबाट आफ्नो गाउँ फर्किन चाहनेहरुको लागि उद्धारको अभियान सुरु गर्नुभयो । चैत्र १६ गतेदेखि शुरु गरिएको अभियानमा हाल सम्म ६,७८४ जनालाई गन्तव्यमा पुर्‍याईएको गाउँपालिकाको छ ।

दाहालले भन्नुभयो ‘त्यसैले हामीले चैत्र १६ गतेदेखि पालिका प्रवेश गर्नेहरुलाई नाकामा सामान्य चेकजाँच गरेपछि १ लिटर पानी र सामान्य ड्राई फुड खुवाएर उपलब्ध भएका सवारी साधनमा राखी निःशुल्क गन्तव्यमा पुर्‍याउने काम गरेका छौँ । खाजा र ईन्धनको व्यवस्था गाउँपालिकाले गरेको छ । मैले मेरो व्यक्तिगत सम्पर्क र नेटवर्क प्रयोग गरेर पैदलै हिडेर आउने श्रमिकहरुलाई ओखलढुङ्गा, खोटाङ, उदयपुर, सुनसरी, सिराहा, महोत्तरी, धनुषा लगायतका जिल्लाहरुमा पुर्‍याएको छु । सबै कामको संयोजन आफैंले गरेको हुनाले सम्बन्धित जिल्लामा छोड्दा त्यहाँको प्रशासन र जनप्रतिनिधिलाई जिम्मा लगाएका छौँ ।’

कुराकानीका क्रममा दाहालले गुनासो गर्नुभयो ‘हामी आफ्नो जीवनको जोखिम मोलेर पैदल हिड्दै आफ्नो गाउँ फर्किएका श्रमिकहरुको जीवन रक्षा गर्दै उद्धार गरिरहेका छौँ । यसो गर्दापनि कतिपय साथीहरु राजन दाहालले लकडाउनको उल्लंघन गर्‍यो भनेर आरोप लगाउनु हुन्छ । एउटा कम्युनिष्ट पार्टीको कार्यकर्ताको हिसाबले मैले विपन्न र श्रमजीवी जनताको पक्षमा काम गर्दा पनि कानुनको उल्लंघन हुन्छ भने मलाई कानुनको वास्ता छैन ।’

राजन र दिपाले विपन्न र श्रमजीवी वर्गप्रति पुर्‍याएको योगदान र मानवीय सहयोगले पैदलै हिडेर गाउँ फर्किएका श्रमजीवी जनताले दिने धन्यवाद र आशिर्वाद उहाँको बाँकी जीवनको लागि सकारात्मक उर्जा हुनेछ । सरकारले आफ्ना नागरिकले पाएको दुःखलाई समयमै सम्बोधन गर्न सकोस् । संघीय सरकारले आँखामा पट्टि बाँधेपनि स्थानीय सरकारहरु र पार्टीका नेताहरु जनताको दुःखका सारथी बनुन् । दैनिक ज्यालादारी, श्रमिक, श्रमजीवी जनताको नेताका रुपमा नेकपाका जनप्रतिनिधिहरु सक्रिय भईरहुन् । सरकार साँच्चै जनताको अभिभावक बन्न सकोस् । दुःखमा जनता परेका बेला जनप्रतिनिधिको राम्रो सहयोग मिलेको छ । उहाँहरुको प्रयासले हजारै घरपरिवारमा खुसियाली छाएको छ । स्थानीय र प्रादेशिक सरकारका जनप्रतिनिधिहरु जनताको दैनिक जीवनसँग जोडिन सकुन् । तपाई हामी सबैको सामूहिक प्रयाशले कोरोनाको संकटबाट मुलुकलाई मुक्त गर्न सकियोस् ।

Comment here