समाचार

मरिण गाउँपालिकाले स्वास्थ्य सामाग्री वितरण गर्ने

बासु मैनाली

मरिण, ३ बैशाख २०७६ / मरिण गाउँपालिकाले घरभाडामा बस्नेहरुलाई सरसफाई सामाग्री वितरण गर्ने भएको छ । आज स्थानीय विपद तथा जलवायु उत्थानशिल समिति तथा आपत्कालिन दुर्घटना कोष तथा व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष पानीराज बम्जनको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले तत्काल सावुन पानीले हात धुन ५ थान वितरण गर्ने र स्वास्थ्य सामाग्रि नलिने घर पष्रिवारको विवरण संकलन गरि धन्यवाद दिने समेत निर्णय गरेको छ ।

यस्तै राहत वितरणको लागि वडाबाट आएका नामावली सार्वजनिक गर्ने र कुनैपनि व्यक्ति राहत लिने पर्ने अवस्थामा नरहेको भन्ने उजुरी प्राप्त हुने भएकाले सवै नामावली सार्वजनिक गर्ने निर्णय गरेको अध्यक्ष पानिराज बम्जनले जानकारी दिनुभयो । आगामी १ हप्ता सम्म एम्बुलेन्स बाहेक अन्य कुनै पनि सवारी चल्न निसेध गरेको सथै स्थानीय जनता को सुझाब अनुसार कुनै पनि निकायले दिएको सवारी पास मरिण गाउपालि भित्र अमान्य हुने गाउँपालिका अध्यक्ष बम्जनले बताउनुभयो ।

साथै लकडाउनलाई थप कडाईका साथ लागु गर्ने र खाद्यान्न ढुवानीमा मदिरा तथा चिसो पेय पदार्थ ओसार प्रसार भएको गुनासो आएकाले त्यस्ता कार्य गर्न निरुत्साहित गर्ने पनि निर्णय गरेको छ । प्लान नेपाल, सहकार्य नेपाल, रेडक्रस बाट गाउँपालिकालाई राहत स्वरुप नगद तथा राहत प्रदान गर्न प्रस्ताव प्राप्त भएकाले स्वीकृत मापदण्डको परिधिमा रही स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकमा कोरोना भाइरस (कोभिड–१९) को संक्राण रोकथाम तथा न्यूनीकरणको लागि सवै पालिका बासिलाई लकडाउनको पालना गरि घरमा नै बस्न आग्रह गरिएको थियो । साथै बैठकमा वडाले गरेका कार्यहरुको बारेमा समेत जानकारी गराईएको थियो ।

Comment here